पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्न खोजेपछि बाँकेको नेपालगञ्जमा झडप भएको छ। नेपालगञ्जस्थित धम्बोजी चोकमा वीरेन्द्रको शालिक राख्न खोज्दा झडप भएको हो।
स्थिति नियन्त्रणमा लिने क्रममा केही सेल अश्रु ग्यास र हवाई फायर समेत गर्नुपरेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।
पूर्वराजा शाहको वंशनास भएको दिनको अवसर पार्दै बिहीबार धम्बोजीमा शालिक राख्न खोजिएको थियो। उक्त शालिक राप्रपाले राख्न लागेको पाइएको सिडिओ खत्रीले बताए।
यसअघि पनि नेपालगञ्जको भित्रुवन चोकमा पनि पूर्वराजा त्रिभुवनको शालिक राख्न खोजिएको थियो। त्यसबेला पनि शालिक हटाउने प्रयास गरेपछि प्रशासन पछि हटेको थियो।
यो पनि,
२० वर्ष उमेर पूरा गरेका छोरीचेलीलाई ५० हजार रुपैयाँ
मुलुकका सबैजसो स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् । तीमध्ये अधिकांश नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो पदभार पनि ग्रहण गरिसकेका छन् ।
उनीहरुमा पछिल्लो समय आफ्ना मतदातालाई रिझाउन एकपछि अर्को निर्णय गर्ने होडबाजी चलिरहेको छ ।
नयाँ र लोकप्रिय निर्णय गरिएको भन्दै जनप्रतिनिधि र तिनका समर्थकहरुले वकालत गर्दै आएका छन् । कतै भत्ता बढाइएको छ त कतै खाद्यान्न सामग्री बाँड्ने घोषणा गरिएको छ ।
स्वास्थ्य बीमा,विद्युत महशुल निःशुल्क गर्ने निर्णयको लर्को नै लागेको छ । यता,सर्लाहीको चन्द्रनगर गाउँपालिकाले भने छोरीचेलीको विवाहमा सहयोग गर्ने निर्णय अघि सारेको छ ।
पालिकाले २० वर्ष उमेर पूरा गरेका छोरीचेलीलाई ५० हजार रुपैयाँ सहयोग गर्ने भएको हो । यसका लागि १२ कक्षा भने उत्तीर्ण गरेको हुनुपर्छ ।
हालसम्म निर्वाचित जनप्रतिनिधिले गरेका निर्णयमध्ये यो सबैभन्दा नौलो हो ।
मधेश प्रदेशमा बालविवाहको समस्या अत्यधिक देखिएकाले छोरीचेलीलाई सहयोग दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर थिङले बताए ।
‘तराईमा बालविवाह र दाइजोको जटिल समस्या छ’,उनले भने ‘यसको न्यूनीकरणका लागि यो योजना ल्याइएको हो’ ।
१२ कक्षा उत्तीर्ण गरेपछि आफ्नो जीवनको फैसला आफैँ लिन सक्ने र भोलिका दिनमा हुने दुर्घटनाबाट जोगिने भएकाले यो निर्णय निकै प्रभावकारी हुनेमा उनी विश्वस्त छन् ।
पालिकाका अध्यक्षले गरेको उक्त निर्णय कार्यविधि बनाएर कार्यान्वयनमा लैजाने बताइएको छ ।

