तुवाँलो र प्रदूषणको असर तापक्रममा पनि देखिएको छ । लगातारजसो घाम नलाग्दा र धुलो, धुवाँ बढ्दै जाँदा काठमाण्डौमा बिहान र बेलुका चिसो महशुस हुन थालेको छ । प्रि-मनसुन सुरु भएपछि बिस्तारै गर्मी बढ्दै गए पनि तुवाँलोका कारण फेरि न्यूनतम तापक्रम घटेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
काठमाण्डौको न्यूनतम तापक्रम गएको फागुन २९ गते १३ दशमलव २ डिग्री सेल्सियससम्म पुगेको थियो । तर त्यसयता प्रदूषण बढ्दै गएसँगै न्यूनतम तापक्रम घट्न थालेको मौसमविद् मानन्धरले बताउनुभो । काठमाण्डौको न्यूनतम तापक्रम आज ११ डिग्री सेल्सियस मापन गरिएको छ । हिजोको न्यूनतम ११ दशमलव ४ डिग्री सेल्सियस थियो ।
हरेक दिनजसो मौसमको अवस्था एउटै रहेकाले तापक्रम घटेको उहाँले बताउनुभयो । भोलि बेलुकादेखि भने पश्चिमी वायुको मध्यम प्रभाव पर्ने सम्भावना रहेकाले मौसम केही खुल्न सक्ने अनुमान गरिएको छ । बढ्दो डढेलो र आगलागी घटना तथा सुख्खापनका कारण प्रदूषण बढ्दै गएको छ ।
यसपालि हिउँदमा पनि पर्याप्त पानी नपर्दा देशभर सुख्खापन बढेको छ । यसपालि प्रि-मनसुनमा पनि खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । भोलि पश्चिमी वायुको प्रभावका कारण केही पहाडी क्षेत्रमा भने हल्का पानी पर्ने अनुमान छ ।