लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री बसिउद्दीन खान कक्षा १२ को परीक्षामा सहभागी भएको विषयले तरंग पैदा गरेको छ ।
यसअघि लुम्बिनी प्रदेशसभामा आफ्नो शैक्षिक योग्यता स्नातक तह भनेर बुझाएका उनले अहिले कक्षा १२ को परीक्षामा सहभागी भएपछि प्रदेशसभामा बुझाएको विवरण र प्रमाणपत्र नै नक्कली त हैन भन्ने आशंकाले तरंग सिर्जना गरेको हो ।
मन्त्री खान मायादेवी गाउँपालिका वडा नम्बर ५ को हाजीयनातुल्ला माविमा कक्षा ११ मा भर्ना भएका थिए । शिक्षा संकायमा भर्ना भएका उनले अहिले १२ कक्षाको परीक्षा दिइरहेका छन् ।
उनको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ९ खुदाबगरस्थित खुदाबगर आदर्श माविमा परीक्षा केन्द्र छ । मन्त्री खान पहिलो दिन अंग्रेजी विषयको परीक्षामा सहभागी भए पनि त्यसपछि भने परीक्षा दिन गएका छैनन् ।
खुदाबगर आदर्श माविका केन्द्राध्यक्ष प्रकाश शुक्लाले मन्त्री खान अंग्रेजीको परीक्षामा सहभागी भए पनि त्यसपछि नआएको बताए । ‘पहिलो दिन आएर परीक्षा दिनुभएको हो, त्यसपछि के पर्यो खै आउनुभएको छैन, केही समस्या परेर होकि जानकारी भएन,’ शुक्लाले भने ।
खान नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नम्बर ४ ख बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् ।
झुटो विवरण बुझाएको हैन: मन्त्री खान
न्त्री खानले आफूले नक्कली प्रमाणपत्र नबुझाएको स्पष्टीकरण दिएका छन् । उनले आफूले भारतको गोरखपुरबाट राजनीतिशास्तमा स्नातक गरेको बताउँदै अघिल्लो वर्षदेखि भने शिक्षा संकायमा अध्ययन सुरु गरेको बताए ।
उनले भने, ‘म शिक्षामन्त्री भएपछि मैले शिक्षाको क्षेत्रमा पनि पढ्नुपर्छ भनेर नयाँ शंकाय सुरु गरेको हुँ । मैले भारतमा पढेको कुरा झुट्टो होइन ।’ उनले सामान्य कुरालाई पनि अतिरञ्जित बनाउने प्रयास गरिएको बताए ।

