बिजुलीको प्रसारण लाइनको पोलमा मानिस चढेपछि माथिल्लो त्रिशुली थ्री ए को उत्पादन तीन घण्टादेखि बन्द गरिएको छ। नुवाकोटको शान्ति बजारमा रहेको माथिल्लो त्रिशुली थ्री ए उत्पादन गृहबाट काठमाडौं लगिएको २२० केभीको प्रसारण लाइनको पोल रहेको ककनी गाउँपालिका–७ बुधेनीमा मानसिक सन्तुलन गुमाएका एक व्यक्ति चढेपछि उत्पादन बन्द गर्नु परेको माथिल्लो त्रिशुली थ्री ए का सहायक प्लान्ट प्रमुख विजयकुमार मिश्रले जानकारी दिए।
नुवाकोटमा एक जना पुरूष विद्युतको तारमा झुन्डिएका छन्। शनिबार करिब १० बजेदेखि एक जना पुरूष विद्युतको पोलमा चढेपछि स्थानीय र प्रहरी हैरान बनेका छन्।
ककनी गाउँपालिका(७ मा रहेको पोलमा एक पुरूष विद्युतीय पोलमा चढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। उनी विद्युतीय तारमा पनि हिँडिरहेका छन्।
उनी बेलकोटगढी नगरपालिका(१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक छन्। ‘केही घण्टा भयो, उहाँ पोलमा चढ्नुभएको। प्रहरीले उहाँलाई झर्नको लागि फकाइरहनु भएको छ,’ खड्काले भने।
उनका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ। स्थानीयले उनलाई देखेपछि प्रहरीलाई खबर गरिएको थियो। उनलाई अहिले पोलबाट झार्ने प्रयास भइरहेको छ।

