काठमाडौं महानगरपालिकाले दमकल इन्डोनेसियामाबाट किनेको छ । दमकल खरिदका लागि २०७७ फागुन महिनामा बोलपत्र आह्वान गरिएको थियो ।
इन्डोनेसियामा काम गरिरहेको जर्मन कम्पनी जिग्लर इन्डोनेसिया छनोट भएको थियो । कम्पनीले करबाहेक ७ करोड २१ लाख रुपैयाँमा इन्डोनेसियाबाटै दमकल पठाएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
राष्ट्रिय सभा गृहमा महानगरको विपद् व्यवस्थापन विभागलाई मेयर बालेन्द्र शाहले नयाँ दमकलको साँचो हस्तान्तरण गरे ।
२७० एचपी इन्जिन क्षमता भएको यो दमकलमा प्रतिमिनेट ३ हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता छ ।
यस्तै ६० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्ने महानगरको विपद् व्यवस्थापन विभागले जनाएको छ । एकैपटक ४ वटा डिस्चार्ज लाइनबाट प्रेसरका साथ पानी फाल्न र २ वटा सक्सन लाइनबाट पानी तान्न सक्ने नयाँ दमकलमा रहेको महानगरले जनाएको छ ।
३ हजार लिटर पानी र ५ सय लिटर फोमको टयाङक रहेको दमकलले पानीमा फोम आफैं मिसाउन सक्छ । पानी फाल्ने मोनिटर ३६० डिग्रीमा वरिपरि घुमेर र ८० डिग्री सिधा माथि पानी फाल्न सक्छ ।
८ हजार किलोग्रामभन्दा धेरै तौल भएका यी दमकलहरु एन्टिलक ब्रेक सिस्टक हुन् । ३ वर्ष वारेन्टी भएका दमकलहरुमा एबीसी टाइपका फायर एक्स्टिंगगुइसर, ४ वटा ब्रिदिङ एपारटर्स, ५ मिटर लामा २ वटा अल्मुनियमका भर्याङ, २ हजार वाट क्षमताको एउटा जेनेरेटर, २ वटा स्पट लाइट, नाइलनको डोरी, पाइप तथा नोजल लगायत सामाग्री तथा उपकरण रहेको विभागको विज्ञप्तिमा उल्लेख छ ।
८ मिटर लम्बाइ र २।५ मिटर चौडाइ भएका दमकलले घरमा लागेको, पेट्रालियम पदार्थ लागेको र ग्यासमा लागेको आ’गो निभाउन सक्छन् ।
विपद् व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार नयाँ बाहेक महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने २ वटा र सहयोगका लागि प्रयोगमा ल्याउन सकिने ३ वटा गरी ५ वटा दमकल सञ्चालनमा रहेको जानकारी दिए ।
जुद्ध वारुण यन्त्र कार्यालय काठमाडौंका प्रमुख चन्दन श्रेष्ठका अनुसार नयाँ सडक वारुण यन्त्र कार्यालयमा एउटा पूर्ण क्षमताको र २ वटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन् । त्यस्तै रामहिटीमा एउटा पूर्ण क्षमताको र एउटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन् ।
त्यस्तै ३० मिटरको लामो एउटा र २५ मिटर लामो एउटा गरी २ वटा ल्याडर छन् । रेस्क्युका लागि एउटा ट्रक र एउटा जिप छन् । जनशक्ति ओसारपसार गर्न एउटा भ्यान र एउटा जीप छन् । यसैगरी ५ वटा फायर मोटरसाइकल सञ्चालनमा छन् ।
दकमलमा पानी थप्न एउटा पानी ट्याङकर छ । यस्तै पानी तानेर फाल्नका लागि ५ वटा पम्प छन् ।

