नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्मालाई नयाँ जिम्मेवारी दिएको छ । पार्टीले शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको हो।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टी विधानको व्यवस्थाबमोजिम आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको घोषणापत्र तयारी समिति संयोजक शर्मालाई बनाएको कांग्रेसले जनाएको छ।
अब संयोजक शर्माले समितिलाई पूर्णता दिएर घोषणापत्र तयारीको काम अघि बढाउनेछन्। स्थानीय तह निर्वाचनमा अर्का महामन्त्री गगन थापा संयोजकत्वको समितिले घोषणापत्र बनाएको थियो।
यो पनि पढ्नुहोस्ः
सम्मानजनक ढङ्गले सिट बाँडफाँट नभए गठबन्धनको औचित्य छैन
जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताएका छन् ।
मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयको आज वीरगञ्जमा कार्यालय उद्घाटन गर्दै अध्यक्ष यादवले सबैको भावनालाई सम्मान गर्दै न्यायोचित सिट बाँडफाँट नभए दलहरुबीच गठबन्धनको कुनै औचित्व नरहने बताए ।
उनले आफूहरूले प्रतिनिधिसभाका लागि ३२ सिट कांग्रेस नेतृत्वसँग माग गरेको र सोही विषयमा दलका शीर्षनेताहरूबीच छलफल चलिरहेको समेत जानकारी दिए ।
सिट बाँडफाँटको विषयमा सहमति नभएका विषयलाई चाँडै नै शीर्ष नेतृत्वले किनारा लगाएर आसन्न निर्वाचनको तयारीमा जुट्ने अध्यक्ष यादवले बताए । सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष यादवले सिट बाँडफाँटको विषय चाँडै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरे ।

