नेपाल फोटो पत्रकार समूहको २५औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
माओवादी केन्द्रका उपमहासचिव समेत रहेका शर्माले एसएलसीपछि १५ दिने फोटोग्राफी तालिम लिएर फोटो खिच्न थालेको बताएका छन् । फोटो पत्रकारितालाई उनले इमानको पेसासमेत भने । ‘यो विधामा जा’लझेल हुँदैन, बा’ङ्गोटिङ्गो हुँदैन’, शर्माले भने, ‘फोटोग्राफीमा आफ्नो स्वार्थ घुसेको हुँदैन, जुन इमानमा आधारित छ ।’
२०२० सालमा रुकुमको सेरीगाउँमा जन्मिएका शर्मा चारपल्ट मन्त्री भइसकेका छन् । रुकुम पश्चिमबाट उनले तीनपल्ट चुनाव जिते । उनका बुवा स्कन्द शर्मा समाजसेवीका रूपमा चिनिन्थे ।
तर, परिवारको आर्थिक हैसियत भने सामान्य थियो । नजानिँदो पाराले स्कुले जीवनबाटै राजनीतिक गतिविधिमा होमिएका शर्माले स्कुल पढ्दापढ्दै जुनियर हेल्थ असिस्टेन्टको जागिर खाएका थिए ।
पुलिसबाट जोगिन जागिर खाएको बताउने शर्माले ९ महिनापछि उक्त जागिर छोडिदिए । तर, एसएलसीपछि राजनीतिलाई अघि बढाउन उनले फेरि केही न केही गर्नुपर्ने बाध्यता आइलाग्यो ।
अनि केही समय फोटो खिचेर धुलाउने काम गरे । कृषि पढेकाले पछि उनले जिल्लामै जेटीएको जागिर पाए । पछि लोकसेवा पास गरी शर्माले त्यो जागिर झण्डै पाँच वर्ष गरे ।
रुकुमबाट दैलेख सरुवा भएपछि उनले जागिर छोड्ने निधो गरे र २०४३ सालमा राजीनामा दिए । पछि सक्रिय राजनीतिमा लागे । भू’मिगत भए ।
१२ वर्षसम्म नेकपा माओवादीले चलाएको सश’स्त्र यु’द्धमा नेतृत्वदायी भूमिकामा रहेर काम गरे । विवादित छवि रहे पनि पार्टी र सरकारमा उनले महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन् ।
यस्तो छ उनको भनाईः
एकै क्लिकमा, एकै झिलिकमा सबै कुरा बताउन सक्ने विधा हो फोटोग्राफी । यसले आफ्नो सार र लक्ष्य एकैपल्ट स्पष्ट गर्न सक्छ । यो विधामा कतै जालझेल हुँदैन । कतै बाङ्गो’टिङ्गो हुँदैन । यो विधामा कतै आफ्नो स्वार्थ घुसेको हुँदैन । यो स्पष्ट छ र इमानमा आधारित छ । त्यसैले म भन्छु- पत्रकारिताभित्रको यो एउटा इमानमा आधारित विधा हो ।
फोटो पत्रकारले आफ्नो कथा होइन, अरुको व्यथा भन्छ । आफू ओझेलमा बसेर गरिने पेसा हो यो । फोटो पत्रकारहरू आफैँ फोटोविहीन भएको मैले पाएको छु । आफैँ फोटोविहीन भएर पनि फोटोमार्फत सत्यतथ्यलाई प्रस्तुत गर्न सक्ने कला, प्रविधि आफैँमा उत्कृष्ट छ ।
डिजिटल माध्यमले फोटोकारितामा अवसर र चुनौती दुवै ल्याएको छ । दुवैलाई चिनेर, बुझेर अगाडि बढ्न सकियो भने यसका फाइदा धेरै छन् ।
फोटोमा धेरै कुराहरू समेटिन्छन् । मैले एसएलसी दिइसकेपछि १५ दिनसम्म फोटोग्राफीको तालिम लिएको थिएँ । त्यो बेला ब्ल्याक एण्ड ह्वाइटको युग थियो । अँध्यारो कोठामा बसेर रिल धुनुपर्थ्यो ।
त्यही बेला फोटोग्राफी सिकेर मैले केही महिना फोटो खिच्ने काम गरेको थिएँ । यसलाई फोटो पत्रकारिता नै गरेको त भन्न मिल्दैन । तर, फोटो खिच्ने र त्यसलाई धुलाउने काम भने गरेको थिएँ ।
त्यसैले फोटोको महत्त्व म बुझ्छु । फोटो पत्रकारले समाचारलाई जीवन्त बनाउँछन् । फोटोकारले घटनालाई इतिहासमा दर्ज गर्छन् । भोलि शोध, अध्ययन गर्नेहरूका लागि पनि यो महत्त्वपूर्ण सामग्रीको रूपमा रहन्छ ।

