राष्ट्रपति विद्यादेवी भण्डारीलाई सहभागी नहुन सरकारले सुुझाएपछि उनले सुझाव लत्याएको पाइएको छ । चीनद्वारा हालै बेइजिङमा आयोजित ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) सम्बन्धी सम्मेलनमा परराष्ट्र मन्त्रालयले लिखित रुपमै सुझाव दिएको हो । तर , भण्डारीले त्यसलाई वास्तै नगरी सहभागिता जनाइन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नै सहमति दिएकाले परराष्ट्रका तर्फबाट दिइएको सुझावविपरीत राष्ट्रपतिले उक्त सम्मेलनमा ‘प्रि रेकडेर्ड’ भिडिओ सन्देश पठाएर सहभागिता जनाइन्। गत बुधबार उक्त सम्मेलन आयोजना भएको थियो। सम्मेलनमा चीनले अघि बढाएको जीएसआई अन्तर्गत विश्व शान्ति लगायतका विषयमा छलफल भएको थियो।
जीएसआई चिनियाँ नेतृत्वको अघो’षित सै’न्य गठबन्धन भएकाले त्यससम्बन्धी कार्यक्रममा नेपालको राजनीतिक नेतृत्वले भाग लिँदा त्यो अवधारणा स्वीकार गरेको देखिने र त्यो असं’लग्न परराष्ट्र नीति विपरीत हुने बुझाइ परराष्ट्र मन्त्रालयको थियो।
त्यही बुझाइअनुसार परराष्ट्रमन्त्री नारायण खड्काले राष्ट्रपतिलाई सो सम्मेलनमा भाग नलिन लिखित तथा मौखिक रुपमा आग्रह गर्न परराष्ट्र अधिकारीलाई निर्देशन दिएका थिए। उनको निर्देशनअनुसार राष्ट्रपति भण्डारीलाई सम्मेलनमा भाग नलिन लिखित पत्र बुझाएरै आग्रह गरिएको अधिकारीहरुले बताए।
बेइजिङमा आयोजित जीएसआई सम्बन्धी सम्मेलनमा राष्ट्रपति भण्डारीलाई सहभागी गराउन चिनियाँ दूतावासले कूटनीतिक र राजनीतिक दुवै च्यानलबाट प्रयास गरेको थियो। दूतावासले गत सेप्टेम्बर १२ मा परराष्ट्र मन्त्रालयलाई निमन्त्रणा पत्र बुझाएको थियो।
चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणकै क्रममा चिनियाँ दूतावासका अधिकारीले परराष्ट्रलाई पत्र हस्तान्तरण गरेका थिए। तर एक सातासम्म परराष्ट्रले त्यसबारे जवाफ नदिएपछि दूतावासले राष्ट्रपति कार्यालयमा पनि ताकेता गरेको थियो।
परराष्ट्रले उक्त सम्मेलनमा भाग नलिन राष्ट्रपतिलाई सुझाव दिइसकेको थियो। उता चिनियाँ दूतावासले उच्च राजनीतिक तहमा राष्ट्रपति भण्डारीलाई उक्त सम्मेलनमा सहभागी गराउन आफ्नो प्रयास कायमै राखेको थियो। त्यसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसम्म पनि चिनियाँ पक्षले उक्त विषय पुर्याएको थियो।
उक्त सम्मेलनमा राष्ट्रपतिले भाग लिन लागेको थाहा पाएपछि अमेरिका, भारत र पश्चिमा मुलुकका कूट’नीतिक अधिकारीहरुले परराष्ट्रमन्त्री खड्कासँग चासो व्यक्त गरेको स्रोतले बतायो।
यहीबीच संविधान दिवसको अघिल्लो दिन असोज २ गते प्रधानमन्त्री देउवाले शीतल निवासमा राष्ट्रपति भण्डारीसँग गरेको भेटमा राष्ट्रपतिलाई जीएसआई सम्मेलनमा सहभागी हुन सहमति दिएका थिए।
संविधान दिवसको दिन सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा भेट हुँदा पनि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच यस विषयमा अनौपचारिक कुरा भएको र देउवाले थप सहमति दिएको स्रोतहरूले जनाएका छन्।
‘

