नेता घनश्याम भुसाल रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । शनिबार एमाले परित्याग गरेका भुुसाललाई सत्ता गठबन्धनले सहयोग गर्ने भएको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै उनले आफू सक्रिय राजनीतिमै रहेको र सक्रिय राजनीतिका लागि संसदमा हुनुपर्ने भएकाले निर्वाचनमा लड्ने घोषणा गरेको बताएका हुन् ।
एमाले परित्यागसँगै उनलाई माओवादीले आफ्नो चुनाव चिन्ह लिएर निर्वाचनमा जानसमेत आग्रह गर्यो। तर, उनले आफू स्वतन्त्र नै रहने भन्दै माओवादीको प्रस्ताव अस्वीकार गरे।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकदमै स्वतन्त्र रहेर पनि आफ्नो चुनाव चिन्ह प्रयोग गर्न आग्रह गरेको भन्दै भुसालले आफूले स्वतन्त्र नै रहन दिन आग्रह गरेको बताए।
गएको एक वर्षमा वाम एकताको कुरा गरेर किनारामा परेको मान्छे आफू भएको बताउँदै उनले प्रस्तावका लागि माओवादी केन्द्र र अध्यक्ष प्रचण्डलाई धन्यवाद दिए।
‘म प्रति देखाउनुभएको सदासयताका लागि माओवादी र अध्यक्ष प्रचण्डलाई धन्यवाद छ,’ उनले भने, ‘तर, मेरो अनुरोध के छ भने तपाईंहरूले मलाई स्वतन्त्र नै हुन दिनुस् भनेँ।’
अध्यक्ष दाहालले गठबन्धनसँग सल्लाह गरेर जानकारी गराउने बताउँदै राति साढे १२ बजे फोन गरेको भुसालले जानकारी गराए।
‘राति साढे १२ बजे उहाँले फोन गर्नुभयो, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माधवकुमार नेपालसँग छलफल गरेर उहाँले पूर्ण सहयोग गर्छौं, हाम्रो तर्फबाट उम्मेदवारी हुँदैन, हाम्रो सम्पूर्ण शक्ति तपाईंको पक्षमा लाग्ने निर्णय गरेका छौं, अगाडि बढ्नुहोस् भन्नुभयो।’
आफू सत्ता गठबन्धनले समर्थन गरेको स्वतन्त्र वाम उम्मेदवार भएको उनले घोषणा गरे। गठबन्धनले सहयोग नगरे पनि उम्मेदवारी दिने तयारीमा रहेका उनलाई प्रचण्डको फोनले थप भरोसा दिएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि उनले एमाले पार्टी छोडेका हुन् । पार्टीमा उनी ओलीको विपक्षमा रहेको भन्दै आलोचना पनि हुने गरेको थियो ।

