नेपाल संवत् ११४३ को अवसरमा भक्तपुरको मध्यपुर थिमिस्थित शंखधर चोकमा नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको रोचक गतिविधि देखिएको छ । कार्यक्रममा राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले प्रमुख अथितिका रुपमा देउवालाई बोलाएको हो ।
सालिकमा माला चढाउनका लागि सानो भर्याङ समेत राखिएको थियो । प्रतिमामा पहिले एउटा माला लगाइसकिएको थियो । र प्रधानमन्त्री देउवाको हातमा सुरक्षाकर्मीले सयपत्रीको एउटा माला थमाइदिए ।
उनले माला लिएर सानो भर्याङ चढे र एउटा हात प्रतिमामा आड लगाए लड्ने झै भएका देउवालाई उनको सुरक्षाकर्मीले छेउबाट समात्न पुगे । ठाउँ भने फराकिलो थियो ।
एउटा हात अझै प्रतिमामा आड लिएर अर्को हातले माला लगाइदिए र एउटामात्र हातले माला लगाइदिएर विस्तारै झरे । उनी सीधा समेत खडा भएनन् । र एउटै हातले माला लगाइदिएर एउटै हातले नमस्कार गरेर फर्किए । उनको सुरक्षाकर्मीले उनलाई समातेर कार्यक्रम स्थलमा ल्याएर राखे ।
उनको गतिविधि देखेर माला अर्पण गर्न लाइनमा उभिएका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजन र काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल कानेखुसी गर्दै हाँसेको देखियो।

