प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारको नाम प्रतिनिधिसभातर्फको समानुपातिकको बन्दसूचीबाट हटाइएको छ । निर्वाचन आयोगले उनको नाम हटाएको हो । नेपाली कांग्रेसले बन्दसूचीमा समावेश गरेको परियारविरु’द्ध आयोगमा उ’जुरी परेपछि नाम हटाएको हो ।
परियार नेपाल सरकारको लाभको पद प्रधानमन्त्रीको प्रेस सल्लाहकार धारण गरेकाले उनको नाम बन्दसूचीमा रहेकोमा आवश्यक कार’बाही गरिपाऊँ भन्दै कविता नेपालीले उनीविरु’द्ध उजुरी गरेकी थिइन् । कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची पेश गर्दा दलिततर्फको चौथो नम्बरमा परियारको नाम समावेश गरेको थियो ।
आयोगले बुधबार समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको लागि राजनीतिक दलहरूले पेस गरेका बन्दसूचीको जाँचबुझ गरी बुधबार सार्वजनिक गरेको हो ।
प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका,२०७९ को दफा २८ तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका,२०७९ को दफा २८ बमोजिम कायम गरिएको उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ ।

