मंसिर ४ गतेको चुुनावी तयारीमा रहेका प्रधानमन्त्री एवंम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा व्यस्त छन् । उनी तीन दिनदेखि गृहप्रदेशकै धनगढीस्थित आफ्नै निजी निवासमा छन् ।
कांग्रेस कैलालीका असन्तुष्ट नेता, कार्यकर्तासँग गोप्य भेटघाट गरिरहेका देउवाको निवासमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ । उनको निवासमा पत्रकारलाई समेत प्रवेशमा रोक लगाइएको बताइएको छ।
यसैबीच, सोमबार धनगढी पुगेका पत्रकार ऋषि धमला राति करीब १० बजेको आसपासमा प्रधानमन्त्रीलाई भेट्न उनको निजि निवासमा पुगेका थिए तर सुरक्षार्थ तैनाथ भएका सुरक्षाकर्मीले उनलाई प्रवेशको अनुमति दिएनन् ।
जबरजस्ती गरेर गेट भित्र प्रवेश गर्न खोजिरहेका धमलालाई सुरक्षाकर्मीले कसैलाई प्रवेश गर्न नदिनू भन्ने आदेश भएकाले जान नमिल्ने बताए । सुरक्षा स्रोतकाअनुसार धमला गेटमा पुगेकाले प्रधानमन्त्रीलाई भेट्न खोजेको विषयमा निजी सचिवालयलाई जानकारी गराएका थिए ।
सचिवालयले धमलालले प्रधानमन्त्रीको समय नलिएको र कार्य व्यवस्ताका कारण भेट्न नसकिने भनेको बताउदै सुरक्षाकर्मीले उनलाई गेटमा रोकेको थियो । निवासभित्र प्रवेश नपाएपछि धमला त्यहाँबाट फर्किएका थिए ।

