चुनावको अन्तिम मतरिणाम आउन लागेसँगै राजनीतिक माहोल तातेको छ । कुुनै पनि दलसँग स्पष्ट बहुुमत नआउँदा अब यही गठबन्धन नै कायम रहने कि नयाँ गठबन्धन बन्ने भन्नबारे यकिन हुुन सकेको छैन ।
नेपाली कांग्रेसमा प्रधानमन्त्रीका लागि दौडधुुप हुुन थालेको छ । यसैबीच, कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ– १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रामचन्द्र पौडेल र कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ । उनीहरुबीच बालाजू बोहोराटारस्थित पौडेल निवासमा हिजो बिहान कुराकानी भएको हो ।
बिहान ८ बजेदेखि पौने १० बजेसम्म लामो छलफल गरेपछि पौडेल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूलाई प्रधानमन्त्रीमा सघाउने आग्रहसहित बालुवाटार पुगेका थिए। बालुवाटारमा उनीहरुबीच आधा घण्टा छलफल भयो ।
पौडेल पौने ११ बजेको समयमा बालुवाटारबाट निराश भएर बाहिरिएको बताइन्छ । यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डको निवासमा पनि भेटघाट बाक्लिएको छ।
चुनावअघिका केही साता र चुनावपछिको एक साता केही होलो देखिएको खुमलटारमा आज गृहमन्त्री बालकृष्ण खाँण पुगेका छन् । प्रचण्डसँग गृहमन्त्री खाँण र शिक्षामन्त्री देवेन्द्र पौडेलले संयुक्त छलफल गरेका छन् । छलफलको बिषय भने बाहिर आएको छैन ।

