नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुुर देउवा आफ्नै पार्टीका महामन्त्रीहरुको पेलानमा परेका छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले देउवाले पार्टीमा छलफल नगरी अध्यादेश ल्याएको बताएपछि कांग्रेस तरंगमय बनेको छ ।
गगनले सरकारले तत्काल अध्यादेश फिर्ता गर्नुपर्ने बताएका छन् । सोमवार विज्ञप्ति जारी गर्दै उनले अध्यादेशबारे पार्टीभित्र कुनै पनि प्रकारको छलफल नभएको प्रष्ट पारेका छन् ।
सरकारले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउनका लागि अध्यादेश जारी गरेको हो । उक्त पार्टीका रेशम चौधरीलगायत टिकापुर घटनामा संलग्नहरूलाई जे’लमुक्त गर्न सरकारले अध्यादेश ल्याएको हो ।
महामन्त्री थापाले विज्ञप्तिमा भनेका छन्, ‘पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ,न कुनै निर्णय नै । त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही छ ।
यो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ । यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्मविपरीत छ । सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ ।’
यसअघि कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि अध्यादेश फिर्ता लिन माग गरेका थिए ।

