राजनीतिमा एकपछि अर्को नयाँ दृृश्यहरु देखा पर्न थालेका छन् । यसअघिको कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको केही दिनमै वामपन्थी दलहरु फेरि एक हुुन थालेका छन् ।
प्रतिनिधि सभामा दोस्रो वनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफनो पार्टीलाई पहिलो दल बनाउने तयारीमा लागेका छन् ।
नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदसहित एमाले संसद्को सवैभन्दा ठूलो दल बन्ने योजनामा छ। ओलीको यही योजना अनुसार एमालेका नेताहरू पार्टी एकताका लागि सक्रिय भएका छन्।
उपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले मंगलबार साँझ नेपालसँग छलफल गरेका थिए। एमालेका अन्य नेताले पनि नेपालसँग निरन्तर छलफल गरेका छन्।
बुधवार एमाले नेता महेश बस्नेतले पनि अध्यक्ष नेपालसँग भेटघाट गरेका छन् । बस्नेतले अध्यक्ष नेपाललाई उनकै निवास कोटेश्वरमा भेटवार्ता गरेका हुन। भेटवार्ताका क्रममा नेता बस्नेतले अध्यक्ष नेपाललाई एमालेमै फर्किन आग्रह गरेका छन् ।
अध्यक्ष नेपालसँगको भेटवार्तामा नेकपा एसका सचिव मेटमणि चौधरी पनि थिए। कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाड्ने अडान कसेपछि माओवादी अध्यक्ष पुष्पकममल दाहाल पाँच दलीय गठबन्धन टुटाएर आइतबार नै एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भइसकेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली र दाहाल एक ठाउँमा उभिएपछि अध्यक्ष नेपाललाई पनि फर्काउने प्रयास भइरहेको छ। सरकारमा मात्रै नभएर एमालेका कतिपय नेताहरूले नेपाललाई पार्टीमा फर्काउने प्रयास गरिरहेका छन्।
यसअघि उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पनि नेपाललाई भेटेर एमालेमा फर्किन आग्रह गरेका थिए। सुवास नेम्वाङ पनि नेपालसँग संवादमा छन्। अहिले एमाले नेताहरूले ओली र माधव नेपालबीच भेटवार्ताको माहौल बनाउने प्रयास गरिरहेका छन्।
यस क्रममा अध्यक्ष नेपालले पनि आफनो तर्फबाट पार्टी एकताका पहल थालेका छन् । उनले आगामी रणनीति तय गर्न भूगोलका नेताहरूसँग परामर्श थालेका छन्।

