राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बन्ने भएका छन् । राप्रपा लिङ्देनकै नेतृत्वमा सरकारमा जान लागेको हो ।
राप्रपालाले ३ वटा मन्त्रालय दाबी गरेको छ । वागमतीको मुख्यमन्त्री समेत दाबी गरेको राप्रपाले संघ सरकारमा एक राज्यमन्त्रीसहित ३ मन्त्रालय पाएमा मुख्यमन्त्री छाड्ने बुझिएको छ । वागमती र गण्डकीमा राप्रपाको मत निर्णायक छ ।
लिङ्देनसँगै महामन्त्री डा। धवल शम्सेर जबरा, बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान मन्त्रीका मुख्य दाबेदार देखिएका छन् । अर्का दाबेदार विक्रम पाण्डेको भने भ्रष्टाचार मुद्दामा अख्तियार सर्वोच्च अदालत जान लागेकाले उनी यसपटक मन्त्री बन्ने सम्भावना नरहेको राप्रपा स्रोतले जनाएको छ ।
जुम्लाबाट निर्वाचित भएका युवा नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाही पनि मन्त्रीका प्रबल दाबेदार हुन् । प्रत्यक्ष निर्वाचित राप्रपाका ७ जना सांसदमध्ये दीपक बोहोरा र विक्रम पाण्डेबाहेक अरूबाट मन्त्री बन्ने सम्भावना छ । समानुपातिकबाट बुद्धिमान तामाङको सम्भावना छ ।
प्रत्यक्ष निर्वाचितमध्येलाई दुई पटक गरेर मौका दिइनेबारे पार्टीमा नेताहरुबीच छलफल भएको छ । मकवानपुरबाट निर्वाचित दीपकबहादुर सिंह यसपटक प्रमुख सचेतक बन्ने र दोस्रो चरणमा मन्त्री बन्ने सम्भावना छ । प्रतिनिधिसभा राप्रपाको १४ सीट छ । राप्रपाले उपसभामुख पाए रोशन कार्कीलाई पठाउने भएको छ । उपसभामुखमा रास्वपाको पनि दाबी रहेको छ ।
मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा नजाने
तर, लिङ्देनले भने राप्रपा लगायतका दलहरूलाई सरकारमा लान मन्त्रालयहरूको संख्या बढाईने भन्ने हल्ला निराधार रहेको बताएका छन् । सामाजिक सञ्जालमा उनले मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा नजाने बताएका छन् ।
उनले लेखेका छन्ः ‘राप्रपा लगायतका दलहरूलाई सरकारमा लान मन्त्रालयहरूको संख्या बढाईने भन्ने हल्ला निराधार हो । मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा जादैँन ।’

