संसद्को ठूलो दल बनेर पनि सत्ता नेतृत्व गुमाएको नेपाली कांग्रेसले राज्यको दुई मुख्य पद राष्ट्रपति र सभामुखतर्फ नजर लगाएको छ । गत २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपति र सभामुखमा सत्ताभित्र र बाहिर रहेका दलसँग संवाद नीति लिएको हो ।
कांग्रेसले गत बिहीबार बसेको पदाधिकारी बैठकमार्फत सभामुख चयन विषयमा बाहिर र सत्ताधारी दलसँग संवाद अघि बढाउने निर्णय गरेको थियो ।
सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले सो निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी गराए ।
‘पहिले सभामुख विषयमा छलफल अघि बढाउँछौं र अन्य दलको धारणा बुझ्छौं, सभामुख चयनपछि राष्ट्रपतिका विषयमा पनि कांग्रेसले सत्ताधारी र सत्ताबाहिर रहेका दलसँग छलफल गर्छ,’ कांग्रेस प्रवक्ता महतले राजधानीसँग भने ।
कांग्रेसले राष्ट्रपतिका लागि नेता कृष्णप्रसाद सिटौला र रामचन्द्र पौडेलमध्ये एकलाई अघि सार्ने तयारी गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिने वातावरण कांग्रेसभित्र सिटौलाले नै बनाएको बताइन्छ ।
प्रधानमन्त्री प्रचण्डले समेत शनिबार एक कार्यक्रममा राष्ट्रपति र सभामुख चयनबारे कांग्रेससँग पनि छलफल हुने भन्दै कांग्रेसलाई समेत समेटेर अघि बढ्ने संकेत गरिसकेका छन् ।
कांग्रेसले सभामुखका लागि भने अर्जुननरसिंह केसी, विमलेन्द्र निधि र ज्ञानेन्द्रबहादुर कार्कीमध्ये एक जनालाई उम्मेदवार बनाउनेबारे छलफल गरिरहेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

