सभामुख पदका लागि ईश्वरी न्यौपानेको मनोनयनपछि नेपाली कांग्रेसले राष्ट्रपति कांग्रेसकै समर्थनमा चयन हुने बताएका छन् । महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुने बताएका हुन् ।
बुधबार सभामुख पदका लागि ईश्वरी न्यौपानेको मनोनयनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महामन्त्री शर्माले सो कुरा बताए । ‘कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति देख्न पाउनुहुनेछ’, शर्माको भनाइ छ ।
उनले अहिलेको संसदको शक्ति सन्तुलन र प्रधानमन्त्रीले पनि सबैलाई मिलाएर लैजाने प्रतिबद्धताका आधारमा राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार निर्वाचित हुने विश्वास व्यक्त गरे । बुधबार संसद भवनमा सभामुखको उम्मेद्वारी दर्ता भएको छ ।
कांग्रेसका तर्फबाट प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दर्ता गरेकी ईश्वरी न्यौपानेले आफू निर्वाचित भए तटस्थ भूमिकामा रहेर संसद् चलाउने बताएकी छन् ।
बुधबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै प्रत्याशी न्यौपानेले तटस्थ र सन्तुलित रूपमा सदन चलाउने बताएकी हुन् ।

