आगामी राष्ट्रपति सत्ता गठबन्धनकै उम्मेदवारलाई बनाइने भन्दै प्रधानमन्त्रीको दलका नेताले दाबी गरेका छन् । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन् ।
उनले सभामुख र उपसभामुखझैँ राष्ट्रपति पनि सत्ता गठबन्धनबाटै निर्वाचित हुने बताए। शर्माको भनाइ छ, ‘माओवादी केन्द्र अब गठबन्धन फुटाउने र जोड्ने खेलमा लाग्दैन । माओवादी त्यसरी नलागेपछि राष्ट्रपतिमा पनि सत्ता गठबन्धनकै उम्मेदवार निर्वाचित हुने निश्चित छ ।’
नेता शर्मा गत निर्वाचनको परिणामलगत्तै पूर्ववत काँग्रेस नेतृत्वको गठबन्धनलाई कायम राख्नुपर्ने धारणासहित सक्रिय भएका थिए । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा गठित वर्तमान सरकार बनाउन दिन नहुने भन्दै सक्रिय भएका समाचारहरु बाहिरिएका थिए ।
यता, प्रधानमन्त्री प्रचण्डले भने कांग्रेसले प्रधानमन्त्रीमा आफूलाई विश्वासको मत दिएकाले कांग्रेस र एकीकृत समाजवादीसँग पनि सहकार्य गरेर जाने बताएका छन् । एमाले अध्यक्ष केपी ओलीले संसदमा गठबन्धनमा आइसकेपछि आफ्नो पुरानो संसद विघटन सही भनेपछि प्रचण्ड-देउवा झस्किएका थिए ।

