गुल्मीको एक स्थानीय तहले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिकाले विद्यार्थीहरूलाई शिक्षक सेवा र लोक सेवामा आकर्षित गर्नको लागि निःशुल्क लोकसेवा तयारी सञ्चालन गर्न लागेको हो ।
आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अनुसार निःशुल्क लोकसेवा तयारी सञ्चालन गर्न लागिएको बताइएको छ । गाउँमै जागिरको तयारी गर्नको लागि यही माघ ११ गतेदेखि कक्षा सुरु गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले जानकारी दिनुभयो ।
गाउँमै बसेर लोकसेवा र शिक्षक सेवाको तयारी गर्ने वातावरण सिर्जनाको लागि पहिलो चरणमा विद्यार्थीहरूलाई अभिमुखीकरण गर्ने बताइएको छ ।
गाउँपालिकाले सञ्चालन गर्ने पहिलो दिनको अभिमुखीकरण र तयारी कक्षा १८ दिनसम्म चल्ने भएको छ । सहभागिताको लागि ४५ जनाले निवेदन दिएका छन् ।
सुरुमा शिक्षक सेवा र लोक सेवाको पहिलो पत्रमा आधारित रहेर तयारी गराइने भएको छ । बाँकी तयारीका कक्षा सहभागीहरूको आवश्यकताका आधारमा अगाडि गाउँपालिकाले जनाएको छ ।
देशमा हुने रोजगारीतर्फ कम आकर्षित भई वैदेशिक रोजगारीमा जाने बढ्दो चापलाई कम गर्नको लागि उक्त कक्षा सञ्चालन गर्न लागिएको छ । गाउँमै बसेर जागिरको तयारी गर्न सक्ने र लोकसेवामा आकर्षण बढाउनका लागि अभिमुखीकरण सहित कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष युवराज केसीले बताउनुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

