प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले एमालेसहित सत्तारुढ राजनीतिक दल नयाँ राष्ट्रपति निर्वाचन तत्काल नगराउने रणनीतिमा रहेको निष्कर्ष निकालेको छ। पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको सोमबार सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले कानुनी प्रावधानलाई देखाउँदै एमालेले राष्ट्रपति निर्वाचन सार्न लागेको निष्कर्ष निकालेको हो।
नयाँ राष्ट्रपतिको निर्वाचन नभएसम्म वर्तमान राष्ट्रपतिले नै कार्यभार सम्हाल्ने संविधानको व्यवस्थालाई टेकेर एमालेले विद्या भण्डारीको कार्यकाल केही समय लम्ब्याउने प्रयत्न गरिरहेको कांग्रेस विश्लेषण छ।
त्यसका लागि निर्वाचन आयोग, संसद् सचिवालयका साथै सरकारलाई पनि एमालेले दबाब दिएको जनाउँदै कांग्रेसका एक पदाधिकारीले भने, ‘फागुनदेखि आयुक्त ईश्वरी पौडेलको कार्यकाल पनि सकिँदै छ।
त्यसपछि निर्वाचन आयोगमा सबै ओली (एमाले अध्यक्ष केपी ओली)का मान्छे हुन्छन्। त्यसपछि निर्वाचन गराउने भन्दा पार्टीको निर्णय कार्यान्वयन गर्ने अवस्था आउँछ।’
फागुन २९ गतेअघि राष्ट्रपति निर्वाचन नभए ऐन र संविधानलाई एकरूपता दिने जस्ता विषयलाई अघि सारेर निर्वाचनलाई धकेल्ने सत्तारुढ एमालेको चाहना रहेको ती पदाधिकारीको दाबी छ।
संविधानको धारा ६३ को १ मा राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ। तर ६३ को उपधारा २ मा भने १ अनुसार पदावधि समाप्त भएको राष्ट्रपतिले अर्को निर्वाचित राष्ट्रपतिले पदभार नसम्हालेसम्म कार्य सम्पादन गर्नेछ भन्ने उल्लेख छ।
सो व्यवस्थाअनुसार एमालेले वर्तमान राष्ट्रपतिको कार्यकाल केही समय लम्ब्याउन चाहेको कांग्रेस नेताहरूको बुझाइ छ। आजको नागरिक दैनिकमा समाचार छ ।

