कलाकार एलिजा गौतम राजनीतिमा प्रवेश गरेकी छिन् । उनले आज नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन् । भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पत्रकार ऋषि धमलाकी पत्नीसमेत रहेकी गौतमलाई पार्टीमा प्रवेश गराएकी हुन् ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले एलिजाको जिम्मेवारी टुंगो नलागेको बताइन् । ‘उहाँ हाम्रो पार्टीमा आउन इन्ट्रेस्ट राखेपछि प्रवेश गराउने कुरा स्वभाविक हो’, अध्यक्ष श्रेष्ठले भनिन्, ‘पार्टीमा आएपछि के जिम्मेवारी दिने भन्ने बैठकले निर्णय गर्छ, अहिले नै भन्ने कुरा होइन ।’
धेरैले एलिजाको नागरिक उन्मुक्ति पार्टी प्रवेश स्वभाविक नभई योजनाबद्ध भनेर टिप्पणी गरेका छन् । एलिजासँगै लुम्बिनीबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनेका बर्दियाका राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन् । उनी बैंकर तथा व्यवसायी हुन् ।
एलिजा गौतम निकट एकजनाले उनलाई तत्काल पार्टी प्रवेश गराएर उन्मुक्ति सरकारमा गए मन्त्री बनाउनेसम्मको आन्तरिक समझदारी बनेको छ । उन्मुक्तिले पाएको कोटामा एलिजा मन्त्री बन्ने सम्भावना छ, सांसद नभएपनि ६ महिना मन्त्री बन्ने कानुनी व्यवस्था छ, सायद यही आधारमै उहाँ प्रवेश गर्न लागेको मैले बुझेको छु’ उनले भने ।
नागरिक उन्मुक्तिले पार्टीको उपाध्यक्ष नै बनाउने गरी एलिजालाई प्रवेश गराएको पार्टी उच्च स्रोतको दाबी छ ।

