लामाे समयदेखी प्रतिक्षामा रहेका सानिमा लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) परेकाहरुकाे प्रतिक्षा सकिएकाे छ ।
सानिमा लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ ।
कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि एसएलआई सिम्बाेल पाएकाे छ ।
हाल कम्पनीकाे उक्त आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ ।
यसै साता सूचीकरण सम्पन्न गरी काराेबार सूरू गर्ने तयारी गरिएकाे छ ।
नेप्सेमा सूचिकृत भएपछि लगानीकर्ताले उक्त सेयर कारोबार गर्न सक्नेछन् ।
सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते,
बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ
दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियाे ।
जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक
लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियाे ।
मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे ।
ग्राेलाप्रथाबाट वितरण गर्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका थिए ।
कम्पनीको आईपीओमा २४ लाख १९ हजार ८ सय ४८ आवेदकबाट ३ करोड ६९ लाख ५१ हजार ८० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो ।
कम्पनीको आईपीओले हालसम्मका सबै रेकर्डहरु ब्रेक गरेकाे थियाे ।
नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १०३ रुपैयाँ १७ पैसादेखि अधिकतम ३०९ रुपैयाँ ५१ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ ।
नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।
सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७५/७६ को प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ १७ पैसा रहेको छ ।
साेही नेटवर्थकाे ३ गुणा ३०९ रुपैयाँ ५१ पैसा हुन्छ ।
कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरण भएको हुनाले आर्थिक वर्ष २०७५/७६ को नेटवर्थबाट ओपनिङ रेञ्ज ताेकिनेछ ।
कम्पनीको आर्थिक वर्ष २०७६/७७ सम्मको अपरिष्कृत वित्तीय विवरण
अनुसार प्रतिसेयर नेटवर्थ १०९ रूपैयाँ ६७ पैसा रहेको छ ।
आर्थिक वर्ष २०७९/८० सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १३९ रूपैयाँ ३३ पैसा पुग्ने प्रक्षेपण गरिएको छ ।

