रौतहटको गौर नगरपालिका र इशनाथ नगरपालिका जोड्न लालबकैया नदीको टिकुलियाघाटमा सात वर्षअघि निर्माण गर्न थालिएको पुल अलपत्र परेको छ ।
पुल निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले बारम्बार लापरबाही गर्दा पुल बन्न नसकेको हो ।
सो पुल निर्माण गर्न २६ असार ०७१ मा पप्पु कन्स्ट्रक्सनले ठेक्का पाएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुलको शिलान्यास गरेका थिए ।
२५ असार ०७४ मा सम्पन्न गर्ने गरी सम्झौता भए पनि थप चार वर्ष बितिसक्दा पनि ५० प्रतिशतभन्दा काम अघि बढेको छैन ।
रौतहट सदरमुकाम गौर र इशनाथ नगरपालिका जोड्ने सो पुलको लम्बाइ दुई सय २५ मिटरको हुनेछ ।
तत्कालीन सडक डिभिजन कार्यालय हेटौँडाबाट २० करोड ७२ लाखको लागतमा दुई सय २५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान गरेको थियो ।
पप्पुले लागत इस्टिमेटभन्दा २८ प्रतिशत कम कबोल गरी १४ करोड ९३ लाखमै निर्माण सम्पन्न गर्ने प्रस्ताव पेस गरेको थियो ।
टेन्डर खोल्दा सबैभन्दा कम लागतमा निर्माण गर्ने सो प्रस्ताव स्वीकृत भएपछि पप्पुले पुल निर्माणको ठेक्का पाएको थियो ।
निर्माण कार्य पूरा गर्ने लिखित गरी पप्पु कन्स्ट्रक्सनका तत्कालीन सञ्चालक हरिनारायण रौनियारले सम्झौता गरेका थिए । सम्झौतापछि भने सुरुदेखि नै पप्पुले बेवास्ता गरेको थियो ।
निर्माणको काम निरन्तर अघि नबढाउने, तर सम्झौता थपिरहने गरिरहेको पप्पुसँग सडक डिभिजन कार्यालय हेटौँडाले ठेक्का तोड्ने पत्र पठाएपछि पप्पु अदालत पुग्यो ।
६ महिनाअघि अदालतले तत्काल सम्झौता तोड्ने निर्णय कार्यान्वयन नगर्नू भन्ने अन्तरिम आदेश दियो ।
त्यसपछि न डिभिजन कार्यालयले पप्पुसँगको सम्झौता रद्द गर्न सक्यो, न पप्पुले काम अघि बढायो । यसरी पुल अलपत्र परिरहेको छ ।

