नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह उपप्रधानसहित शक्तिशाली मन्त्रालयको जिम्मेवारी सम्हाल्ने तयारीमा रहेको चर्चा भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा आफूलाई साथ दिएका सिंहलाई उपप्रधानमन्त्री बनाएर मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका हुन् ।
यतिबेला उद्योग वाणिज्य तथा आपूर्ति र रक्षा मन्त्रालय खाली छन् । देउवाले सिंहलाई रक्षासहित उपप्रधानमन्त्रीको अफर गर्दा सिंहले सन्तुष्टि नजनाएको बुझिएको छ ।
स्रोतका अनुसार देउवाले सिंहलाई बालुवाटार बोलाएर रक्षा मन्त्रालय खालि रहेकाले उपप्रधानमन्त्रीसहित रक्षामन्त्री बन्न आग्रह गरेका थिए ।
सिंहले भने रक्षा मन्त्री बन्ने प्रस्ताव सोझै अस्वीकार गरे । उनले गृह मन्त्रालय माग गरेका छन् ।
देउवाका विश्वासपात्रसमेत रहेका गृहमन्त्री खाँणलाई देउवाले निरन्तरता दिन चाहेका छन् । ‘चुनावका बेला गृहमन्त्रालय प्रधानमन्त्रीकै विश्वासपात्रको हातमा हुनुपर्छ,’ देउवानिकट एक नेताले भने,
‘प्रधानमन्त्रीले सिंहलाई अविश्वास गर्नुभएको त होइन, तर अहिलेसम्म राम्रोसँग गृहमन्त्री चलाएकाले उहाँ खाँणकै निरन्तरता चाहनुहुन्छ ।’
१४ औं महाधिवेशनमा सिंह सभापतिका उम्मेदवार थिए । पहिलो चरणको निर्वाचनबाट आउट भएका सिंहले दोस्रो चरणको निर्वाचनमा देउवालाई साथ दिएका थिए ।
त्यतिबेलै सिंहलाई उपप्रधानसहित गृहमन्त्रालय दिइने लिखित सहमति भएको सञ्चारमाध्यमहरूमा आएको थियो ।

