नेकपा एमालेबाट अलग भएर नयाँ रुपमा आएको एकीकृत समाजवादी सत्तामा आएर एमालेकै फाइलहरु खोल्न लागेको छ । पछिल्लो समय एस पार्टीका एक मन्त्री राजनीतिमा चर्चामा शिखरमा छन् ।
ति मन्त्री हुन् प्रेम आले । बतास समूहको पञ्जाबाट नारायणहिटी दरबार संग्राहलय जोगाएका पर्यटनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगममा फायर खोल्ने भएका छन् । वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका समूहलाई कारबाही गर्न आले तम्सिएका छन् ।
निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् । बिहीबार भएको निगम सञ्चालक समितिको बैठकमा तीनजना सञ्चाकललाई प्रवेश नै गर्न नदिएर यसको सुरुवात गरिएको छ ।
बिहीबार भएको निगम सञ्चालक समितिको बैठकमा ७ जना सञ्चालकमध्ये ४ जनाले बहुमतको आधारमा निर्णय गरेका छन् ।
पर्यटन मन्त्री आलेको निर्देशनमा निगम सञ्चालक समिति सदस्यहरु डिमप्रसाद पौडेल, ईश्वरी पौडेल र फुर ग्याल्जे शेर्पालाई सञ्चालक समितिमा निषेध गरिएको बताइएको छ ।
मन्त्री आलेले तीन पटक सञ्चालक समितिमा उपस्थित नभएको देखाएर सञ्चालक समितिबाट उनीहरूलाई कारबाही गर्न लागेका छन् ।
तत्कालिन पर्यटनमन्त्री योगेश भट्टराईले नियुक्त गरेका डिमप्रसाद पौडेल महाप्रबन्धक हुँदा निगमलाई कम्पनी मोडलमा लैजान निरन्तर लबिङ गर्दै आएका थिए । उनको अस्वाभाविक व्यवहारका कारण कर्मचारीहरुले आन्दोलन गरेका थिए ।
उनीहरुले पुनः बैठकमा उपस्थित हुने वातावरण नबनाएको भन्दै कार्यकारी अध्यक्षलाई पत्र पठाउँदै ध्यानाकर्षण पनि गराएका छन् । यसको बोधार्थ पर्यटन मन्त्री, सचिव, अर्थ मन्त्रालय राजश्व सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पठाएका छन् ।
यता, निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले भने तीनैजना सञ्चालकलाई समितिको बैठकबारे जानकारी गराइएको बताएका छन् ।
मन्त्री आलेले पछिल्लो समय लगातार रुपमा आफ्नो कार्यक्षेत्र अन्तर्गत देखिएका बेथितिहरुको समाधानका लागि सकारात्मक कदमहरु चालिरहेका छन् ।
उनले पशुपति धर्मशालाबाट पनि बतास समूहलाई हटाउने तयारीसमेत गरेका छन् ।

