कोभिड संक्रमणको बढ्दो जोखिमका कारण त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालयले वार्षिक प्रणाली तथा डिन कार्यालयअन्र्तगतका सेमेस्टरका सबै परीक्षा स्थगित गरे पनि चिकित्सा शिक्षा शास्त्र अध्ययन संकाय (आइओएम) ले माघ १० गतेदेखि सुरु हुने डेन्टलतर्फका नियमित परीक्षाहरू अझै स्थगित गरेको छैन।
एकातिर कोरोनाको तेस्रो लहर बढेसँगै विश्वविद्यालयहरूले परीक्षा स्थगित गरेका छन् भने जिल्ला प्रशासन कार्यालय काठमाडौंले समेत भौतिक उपस्थितका परीक्षा हाललाई नगर्न नगराउन सबै शैक्षिक निकायहरूलाई निर्देशन दिएको छ।
तर आइओएमले सोमबारदेखि हुने तय भएको डेन्टल तर्फको अन्तिम वर्षको परीक्षा स्थगित नगरेपछि विद्यार्थीहरू मानसिक तनावमा छन्।
ग्वार्कोमा रहेको किस्ट मेडिकल कलेजमा अध्ययनरत डेन्टलकि अन्तिम वर्षकी छात्राले नागरिकलाई फोनमार्फत आफू कोरोना संक्रमित रहेको तर कलेजले परीक्षामा सहभागिता जनाउनुपर्ने भनेपछि थप मानसिक तनाव भएको जनाइन्।
‘मलाई कोरोना पोजेटिभ देखिएको छ, थुप्रै साथीमा लक्षण पनि देखिएका छन्,’ ती छात्राले भनिन्, ‘हामी ३१ जना परीक्षार्थीमध्ये आधाभन्दा बढीमा रुघाखोकी, ज्वरो छ। परीक्षा केन्द्रसम्म पुग्ने अवस्था छैन। कसरी परीक्षा दिनु रु हाललाई आइओएमले केही दिन स्थगित गरिदिनुपर्यो।’
क्षेत्रपाटीमा रहेको पिपुल्स डेन्टल कलेजकी अर्की छात्राले पनि कलेजमा धेरै साथीहरू विद्यार्थी भएकोले परीक्षा जतिसक्दो छिटो स्थगित गरेर विद्यार्थीलाई तनावमुक्त पार्न आग्रह गरेकी छिन्।
‘मेरो घरपरिवारका सदस्यहरू कोरोना संक्रमित हुनुहुन्छ, यस्तो अवस्थामा मलाई पनि लक्षणहरू देखिएका छन्,’ ती छात्राले भनिन्, ‘यस्तो अवस्थामा मानसिक तनाव छ। परीक्षाको तयारी कसरी गर्नु रु’
भैरहवाको युनिभर्सल मेडिकल कलेज पनि त्रिविअन्तर्गतकै हो। यस कलेजका एक छात्रले आफू छात्राबासमै बिरामी भएको बताउँदै सोमबारको परीक्षालाई आइओएमले स्थगित गरी परीक्षाको अन्योल हटाउनुपर्ने माग गरे। ‘हाम्रा कलेजबाट डेन्टलका ४२ परीक्षार्थी छन्।
२८ जनाभन्दा बढीमा रुघाखोकी ज्वरो छ। कोरोनाको लक्षण देखिएको छ,’ ती छात्रले नाम नराख्ने शर्तमा भने, ‘म आफू पनि बिरामी छु। कलेजका शिक्षक कर्मचारी पनि बिरामी नै हुुनुहुन्छ। यस्तो अवस्थामा कसरी परीक्षा दिनु रु परीक्षा केन्द्रमा सुरक्षाको उपायसमेत अपनाइँदैन। जोखिम बढ्दो अवस्थाका कारण परीक्षा हाललाई स्थगित गर्नुपर्छ।’
किस्ट मेडिकल कलेजका कानुनी सल्लाहाकार केशव आचार्यले हाल कोरोनाको जोखिम बढ्दै गएको तर आइओएमले परीक्षाबारे कुनै निर्णय नगरेकाले सोमबारको परीक्षा नरोकिएको जनाए। तर उनले हालको अवस्थामा एक साता परीक्षा सार्नुपर्ने सुझाव दिएका छन्।
‘स्वास्थ्य भन्दा ठूलो केही होइन। सरकारले स्मार्ट लकडाउनको नाममा थप संक्रमण बढाइरहेको छ,’ आचार्य भन्छन्, ‘स्मार्ट लकडाउन भने पनि सार्वजनिक यातायतामा यात्रु कोचिएका छन्।
जथाभावि विनामास्क र सेनिटाइजर जनता सडकमा हिडेका छन्। यस्तो अवस्थामा कोरोना कम हुँदैन।’आइओएमकी डिन डा।दिव्या सिंहले कोरोनाको संक्रमण बढ्दै गएको अवस्थामा डिन कार्यालयले सिरियसनेसको अवस्थाको मूल्यांकन गरेर थप निर्णय लिने जनाइन्।
‘म आफैं पनि कोरोना संक्रमित भएकी छु। हामीले स्वास्थ्यलाई माथि राखेर हेर्नुपर्छ,’ डिन डा। दिव्याले भनिन्, ‘सोमबारदेखि डेन्टलको परीक्षाबारे के गर्ने भन्ने आइतबार थप छलफल गरी निर्णय गर्ने तयारीमा डिन कार्यालय छ।
विद्यार्थीलाई मानसिकक तनाव हुने काम डिन कार्यालयले गर्ने छैन। आइतबार परीक्षाबारे थप निर्णय हुन्छ।’ नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

