नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाप्रति पार्टीभित्रैबाट असन्तुष्टि व्क्त भएको छ ।
कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति संघका सभापति इन्द्रबहादुर गुरूङले आक्रोशित भएर पदबाट राजीनामा दिएका छन् ।
संघको विधान संशोधन, अधिवेशनमा ढिलासुस्ती लगायत विषयमा असन्तुष्टि जनाउँदै गुरुङले राजीनामा दिएका हुन् । गुरुङले सभापति देउवासमक्ष आफ्नो राजीनामा पत्र बुझाएको बताए ।
संघको पुरानो विधान संशोधन गरेर संघीय संरचनाअनुसार संस्थालाई परिवर्तन गर्न ०७४ फागुन २७ मा संशोधित विधानको कपी बुझाए पनि पार्टीले त्यसलाई अहिलेसम्म पनि स्वीकृति नदिएको उनको गुनासो छ ।
त्यस्तै, कांग्रेस गुट, उपुगुटमा लागेको र गठबन्धनका नाममा विभिन्न पार्टीका चुनाव चिह्नमा मतदान गर्नुपरेको भन्दै उनले संघको सभापति र पार्टीको क्रियाशील सदस्यताबाट समेत राजीनामा दिएको बताएका छन् ।
उनले माघ ११ मा राजीनामा दिएका थिए । १४ औँ महाधिवेशनमा भातृ संस्थाहरूले पाउने महाधिवेशन प्रतिनिधि पनि नपाएको उनको उनको गुनासो छ ।


