नेपाल कम्युनिष्ट पार्टीका तत्कालिन नेताहरु फेरि पार्टी आफ्नै पोल्टामा पार्ने दाउमा लागेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले दाबी गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले आफूमाथि प्रचण्ड र माधव नेपालले मान्छे लगाएर कारबाही गर्न लगाएको आरोप लगाएका हुन् ।
नेकपाले माघ १३ गते कट्टेलाई पार्टी साधारण सदस्यबाटै निष्काशन गरेको छ । पार्टीको विधान विपरीत अहित हुने काम गरेको भन्दै उनलाई निष्काशन गरिएको नेकपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तर, यता कट्टेलले भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र मान्छे घुसाएर कारबाही गर्न लगाएको बताएका छन् ।
कट्टेलले भने, ‘प्रचण्ड र माधव नेपालले मेरो पार्टीभित्र आफ्ना मान्छे घुसाएर ममाथि कारबाही गर्न लगाए । ’
यता नेकपाले लोकनारायण सुवेदीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइसकेको छ । माघ ७ गते सोधिएके स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएपछि निष्काशन गरेको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘यसअघि जसले नेकपा कब्जा गर्न चाहन्थे, उनीहरूले सकेनन् । यसबारे मलाई धेरै सूचना आएको थियो । मसँग प्रमाण नभएरमात्रै चुप लागेर बसेको थिएँ । त्यसमा असफल भएपछि भित्रकै शक्ति प्रयोग गर्दैछन् भनेर पनि मलाई सूचना नआएको होइन ।
मलाई अध्यक्ष राख्दासम्म नेकपा कब्जा गर्न नसक्ने भएपछि पार्टीभित्रकै भ्रष्टहरूलाई प्रयोग गरिएको हो’, उनले एक सञ्चारमाध्मसँगको अन्तर्वार्तामा भनेका छन् ।
उनले भने, ‘दुई–तीन महिनादेखि नै गुटबन्दी गरेर मलाई हटाउने र पार्टी कब्जा गर्ने यिनीहरूको भित्री योजना रहेछ । भर्खरै सकिएको राष्ट्रिय सम्मेलनमा पनि मलाई हटाउने प्रयास गरेका थिए ।’
एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई ०७७ फागुन २३ मा सर्वोच्चले खारेज गरेर उनी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता दिएपछि ऋषि कट्टेल एकाएक चर्चामा आए ।
लगत्तै, ओली नेतृत्वको दुई तिहाइको सरकार ढल्यो । एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा आए ।
०७५ जेठ ३ गते केपी ओली नेतृत्वको एमाले र पुष्पकमल दाहाल प्रचण्ड माओवादी केन्द्र मिलेपछि बनेको नयाँ दल नेकपा निर्वाचन आयोगमा दर्ता भएको थियो ।
तर, आफूले नेतृत्व गरिरहेको पार्टीसँग नाम जुधेकोले उक्त दर्ता खारेजीको लागि कट्टेल निर्वाचन आयोग पुगेका थिए ।
आयोगले ओली–प्रचण्ड नामकै नेकपालाई मान्यता दियो । त्यसपछि उनले आयोग र ओली–प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरे । सर्वोच्चले कट्टेलको नाममा रहेको नेकपालाई सदर गरेको थियो ।
तर, माघ १३ गते कट्टेललाई आफ्नै पार्टीभित्रका लोकनारायण सुवेदी समूहले अध्यक्षबाट हटाएको सूचना जारी गरेपछि विवाद बढेको हो ।

