मन्त्रिपरिषद्को बैठक ३ मिनेटमै सम्पन्न भएको छ । बैठकमा एमसीसीमाथि व्याख्यात्मक प्रस्तावको प्रस्तावना प्रस्तुत गरी पारित गरिएको सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् ।
मन्त्रिपरिषद्बाट पारित व्याख्यात्मक प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको बैठकमा पेस गर्नेछन् ।
आइतबार साँझ संसद् बैठक सकिए लगत्तै संघीय संसद्को प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठक कक्षमा मन्त्रिपरिषद् बैठक बसेको थियो ।
सरकारले प्रतिनिधिसभामा पेस गरेको एमसीसी सम्झौताको सैद्धान्तिक छलफल सकिएको छ । छलफल सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक साढे ६ बजे डाकेका थिए । तर, अझै सुरु हुन सकेको छैन ।
अर्थमन्त्री जनार्दन शर्माले बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफलका लागि बैठकमा प्रस्तुत गरेका थिए । बैठकमा विभिन्न दलका सांसदहरूले धारणा राखेका थिए ।
उक्त छलफलमा उठेको जवाफ अर्थमन्त्री शर्माले जवाफ दिएपछि सभामुख सापकोटाले सामान्य छलफलको प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्ताव ध्वनि मतले पारित गरेपछि सभामुख सापकोटाले आइतबारै साँझ साढे ६ बजेको अर्को बैठक आह्वान गरेका हुन् ।

