प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एमसिसीमा जबरजस्त ढंगले अघि बढे। एमसिसी पास गरेरै छोड्ने लाइनमा पार्टीभित्र समान मत पनि बनेको थियो ।
एमसिसीका विषयमा हुने हरेकजसो वार्तामा प्रधानमन्त्री देउवाले महामन्त्री गगन थापालाई छोडेनन् । सत्तारुढ गठबन्धन होस् कि एमाले अध्यक्ष केपी ओलीसँगको वार्तामा नै किन नहोस् देउवाले गगनलाई लान र पठाउन छुटाएनन् ।
एमसिसी पास गर्न सत्तारुढ गठबन्धन तोड्नेसम्मको तयारीमा देउवा थिए । किनकी माओवादी र नेकपा एकीकृत समाजवादी जस्ताको तस्तै एमसिसी पास गर्ने तयारीमा थिएनन् । सुरुमा एमसिसी टेबल गर्न सत्तारुढ दलले सहमति दिए । तर जस्ताको तस्तै एमसिसी पास गर्न नसकिने बरु सत्ता नै छोड्ने चेतावनी पटकपटक माओवादी र नेकपा एसका नेताहरूले दिइरहे ।
सत्तारुढ दलमै सकस देखिएपछि प्रधानमन्त्री देउवाले अर्को विकल्प खोजे एमालेलाई मनाउने । किनकी सत्ता गठबन्धनमा फाटो आए एमालेको साथ मिल्दा एमसिसी टुंगोमा पुर्याउन सकिन्छ भन्ने विश्वास देउवामा थियो । एमालेले संसद् अवरुद्ध गर्दै आए पनि एमसिसीको विरोध गरेको छैन ।
यसैले सत्तारुढ दलमा सहमति नहुँदाको विकल्प एमाले नै भएको भन्दै देउवाले सत्तारुढ दलसँग कुराकानी हुँदै गर्दा एमालेसँग पनि समानान्तर शैलीमा वार्ता अघि बढाए । यो बीचमा देउवा ओलीलाई भेट्न गए, ओली पनि उनलाई भेट्न आए । यो क्रम चारपटकसम्म चलिरह्यो ।
आफ्नो सरकारलाई विस्थापित गरेको सत्ता गठबन्धन भत्किन्छ भने माओवादी र नेकपा एसले सहयोग नगरे एमसिसी पास गराउन आफू तयार रहेको प्रष्टै सन्देश ओलीले देउवालाई दिए । तर यसका लागि सभामुखलाई हटाउनुपर्ने र नेकपा एसका १४ सांसदलाई कारवाही गर्नुपर्ने ओलीको शर्त थियो ।
एमसिसी पास हुन्छ भने सत्ता गठबन्धन टुटेपछि यी मागका विषयमा समेत सोच्न सकिनेमा देउवाले छलफल अघि बढाए ।
यो बीचमा सत्ता गठबन्धनमा पनि छलफल टरिसकेको थिएन । तर ५ फागुनमा कांग्रेस महामन्त्री गगन थापाले ल्याएको प्रस्तावले फेरि सत्तारुढ दलभित्रै एमसिसी पास गर्ने गरी प्रक्रिया अघि बढ्ने भएको छ ।
खासगरी एमसिसीका केही विषयमा माओवादी र नेकपा एसको चासो थियो । यो सम्झौता अमेरिकाको रणनीतिक र सैन्य सहयोग होइन अनुदान मात्रै हो भन्नेमा प्रष्ट हुनुपर्छ भन्ने थियो । यसैले यी विषयमा संसोधन भए एमसिसी पास गर्न आपत्ति नहुने बताएका थिए ।
पहिलेदेखि नै एमसिसीका विषयलाई संसोधनसहित पास हुनुपर्ने गरी बोल्दै आएका उनै गगनले धेरैतिर उठेका विषयमा व्याख्यात्मक टिप्पणीसहित अघि बढ्दा सहज हुने सत्ता गठबन्धनको बैठकमा ५ फागुनमा राखेका थिए ।
तर माओवादी र नेकपा एसले यो विषयलाई त्यत्ति प्राथमिकतामा राखेनन् । बरु एमसिसी पास नगर्ने अडान लिइरहे । तर गगनले प्रयास छोडिसकेका थिएनन् । एमसिसी पास गर्न देउवाको प्रष्ट लाइन बुझेका गगनले एमालेसँग पनि उत्तिकै नजिक भएर वार्ता गरेका थिए । सत्ता गठबन्धन अब अघि नबढ्नेसमेत गगनले संचारमाध्यमलाई बताइसकेका थिए ।
तर देउवाले यो बीचमा एमसिसी पास गर्नका लागि सबै विकल्पमा एमालेसँग खुलेर संवाद गरिरहे । यसको लागि सत्ता गठबन्धन तोड्न पनि तयार भए । एमालेका माग पनि पूरा गर्ने वचन देउवाले दिए । यस्तोमा माओवादी र नेकपा एस आफ्नो अडानमा टिकिरहन सकेनन् ।

