नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वमन्त्री वर्षमान पुनलाई ऐतिहासिक कम्युनिष्ट किल्ला थवाङका जनताले लखेट्ने दाबी गरिएको छ ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य कुमार दसौँदीले आगामी निर्वाचनमा रोल्पाली जनताले माओवादी केन्द्रको असली रूप देखाइदिने समेत बताएका हुन् ।
नेकपा ९एमाले० गंगादेव गाउँपालिका भेलालाई सम्बोधन गर्दै उनले भने, ‘पद प्राप्तिका लागि अनैतिक सम्झौता गर्न माहिर प्रचण्डले १० वर्ष बास बसेको थवाङ र पहिलो पटक निकै मतले जिताएका रोल्पाली जनता नै बिर्सिए ।
प्रचण्डलाई देश र जनताको वास्ता नै छैन । उनलाई सत्ता भए पुग्छ ।’
दसौदीले कम्युनिष्ट किल्ला थवाङमा एमाले मजबुत हुँदै गएको समेत दाबी गरेका छन् । ‘हामी थवाङमा बलियो हुँदै गएका छौँ । यहाँबाट लखेटिएका प्रचण्ड र वर्षमानहरू अबको निर्वाचनपछि रोल्पाबाट नै लखेटिनेछन् । रोल्पाली जनता राष्ट्रघाती नेताहरूको पक्षमा छैनन्,’ उनले भने ।
सत्ता गठबन्धनको चर्चा गरेर नथाक्ने प्रचण्ड आगामी चुनावपछि गुमनाम हुने ठोकुवा गरेका छन् । ‘उनलाई चुनाव हार्ने डरले सताइरहेको छ । उस्तै परे प्रचण्ड फेरि भोट माग्दै रोल्पा–रूकुम छिर्नेछन् ।
राष्ट्रघाती प्रचण्ड–वर्षमानलाई रोल्पाली जनताले राम्रोसँग चिनिसके,’ उनले भने, ‘प्रचण्ड–वर्षमानलाई जनप्रतिनिधि मानेर रोल्पालीहरूले अब फेरि भूल गर्दैनन् ।’
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार जोगाउन माओवादी केन्द्रले एमसीसीको पक्षमा मत हालेको पनि उनको आरोप छ । ‘अमेरिकालाई एमसीसी पास गरिदिने कसम खाएका प्रचण्ड र जनार्दनहरूले राष्ट्रवादी बन्न दोहोरो चरित्र देखाए ।
अन्ततः उनीहरूले एमसीसी सम्झौता पास गरेरै छाडे,’ केन्द्रीय सदस्य दसौदीले भने ।

