पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रचण्ड निवास खुमलटारमा राजनीतिक भेटघाटले तीव्रता लिएको छ । आज पनि खुमलटारमा बिहानैदेखि माओवादी नेताहरु भेटघाटका लागि पुगेका छन् ।
अध्यक्ष दाहाल निवासमा नारायणकाजी श्रेष्ठ,कृष्णबहादुर महरा,गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र अर्थमन्त्री जनार्दन शर्मा पुगेका हुन् । दाहालको सचिवालयका अनुसार उनीहरुबीच बिहानैदेखि भेटवार्ता जारी छ ।
माओवादीमा एमसीसी सम्झौता पार्टी केन्द्रीय समितिमा छलफल नगरी एकतर्फी ढंगले नेतृत्वले पारित गरेकोमा चर्को असन्तुष्टी देखिन्छ । जारी केन्द्रीय समितिको बैठकमा उक्त विषयले निकै चर्चा पाएको छ ।
अर्कोतर्फ पार्टीले महाधिवेशन समापन गरेको तीन महिना बित्नलाग्दा समेत अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गर्न सकेको छैन । यी लगायतका विषयमा छलफल गर्न खुमलटारमा कुदाकुद भएको स्रोतको दाबी छ ।
माओवादीको केन्द्रीय कमिटी बैठक २ बजे !
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २ बजेलाई सरेको छ । यसअघि बैठक बिहान ११ बजेका लागि तय गरिएको थियो ।
माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार ११ बजेका लागि तय गरिएको बैठक २ बजे बस्ने भएको हो । माओवादीको केन्द्रीय कमिटी बैठक शुक्रबारबाट सुरु भएको हो । आजको बैठक बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा बस्ने भएको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिएपछि बैठकका नियमित कार्यसूचीमा छलफल हुनेछ । माओवादी केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीको पूर्णता, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने बताइएको छ ।

