पार्टी १४औं महाधिवेशनमा संस्थापन इतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार बन्न नसकेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २५ मंसिरमा आँसु पुछ्दै प्रतिस्पर्धाबाट अलग हुने घोषणा गरे ।
दोस्रो चरणको मतदान अघि शेरबहादुर देउवाले भेटेर ‘राष्ट्रका लागि तपाईंको आवश्यकता छ, राजनीतिभन्दा बाहिर जाने कुरा नगर्नुस्’ भनेपछि पौडेल पार्टी राजनीतिमा फर्किएका छन् ।
देउवाले पाँचदलीय समन्वय समिति संयोजक रहेका पौडेललाई राष्ट्रपति बनाउन लोभ देखाएको कांग्रेसजनमा चर्चा छ । पौडेल भने त्यसलाई खण्डन गर्छन् ।
प्रधानमन्त्री हुने आश नमारेका उनी भन्छन्, ‘म सक्रिय राजनीति गर्ने मान्छे हुँ । लोकतन्त्रलाई बलियो बनाउने काम अझै बाँकी रहेको म देखिरहेको छु ।’ गृहजिल्ला तनहुँ हुँदै पोखरा आइपुगेका कांग्रेस वरिष्ठ नेता पौडेलसँग अन्तवार्ताः
हिजो तपाईंले नेतृत्व गरेको विचार समूहमा अब हाम्रो नेता रामचन्द्र पौडेल होइन, शेखर कोइराला हो भनेको सुनियो । त्यो अवस्था किन आयो ?
रामचन्द्र पौडेल को हो, कांग्रेसको सही लाइन के हो रु भन्ने कुरा एक दिन बाहिर आउँछ नै । मैले देखेको कुरा मेरा साथीहरूले नदेखेको हुनसक्छ ।
नेपालमा केही शक्ति जसरी हुन्छ, कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याएर नेपाली कांग्रेसलाई किनारा लगाउन लागिपरेका छन् ।
अर्काथरीले केपी ओलीलाई बलियो बनाएर आफ्नो स्वार्थसिद्ध गर्न चाहेका छन् । यस्तै बेलामा हो कांग्रेसले सुझबुझ पुर्याउनुपर्ने ।
बीपीको अनुयायी हुँ भन्नेले बीपी सम्झेर बोल, गणेशमानजीको अनुयायी हुँ भन्नेले गणेशमान सम्झेर बोल, कृष्णप्रसाद भट्टराई मान्नेले किसुनजी सम्झेर बोल । हृदय छामेर बोल–के रामचन्द्र पौडेलले निजी स्वार्थका लागि राजनीति गरेको छ ?
जनता र कार्यकर्तालाई धोका दिएर पदमा पुगेको छ रु रामचन्द्र पौडेललाई थन्क्याउने खेल पार्टीभित्रैबाट भइराखेको सत्य हो, तर त्यो दुष्प्रयास मात्र हो ।
महाधिवेशनमा आफ्नो नाममा सहमति नजुटेपछि तटस्थ बस्छु भन्नुभयो, तर दोस्रो चरणको मतदानअघि शेरबहादुर देउवाको पक्षमा लाग्नुभयो भन्ने आरोप छ नि रु
१३ औं महाधिवेशनमा पराजित भएर पनि म निराश भइनँ र १४औं महाधिवेशनमा शेरबहादुर देउवाको विकल्प दिन अगाडि बढें । देशभरका साथीहरूलाई संरक्षण गरेर ल्याएँ, तिनका लागि निरन्तर लडिरहें । मैले ठिक्क पारेको ठाउँमा साथीहरू आएर बिथोल्ने काम गरे । साँच्चै रूपान्तरण चाहेको भए, साँच्चिकै देउवाबाट कांग्रेसको मुक्ति चाहेको भए यसो गर्ने थिएनन् ।
अन्तिममा आएर प्रकाशमान सिंहले चुनाव नलडी छोड्दिनँ भने । शेखर कोइरालाले पनि अब रामचन्द्र दाइ अलग बसिदिनुस् भने । सामूहिक नेतृत्व गरौं भनेर लागिरहेका साथीहरूले सामूहिक भाव देखाएनन् । रामचन्द्र दाइ पाखा लागिदिएहुन्थ्यो भन्ने चिन्तन देखाए ।
म अलग बसिदिंदा हुन्छ भने बस्छु, साथीहरू आ–आफ्नो सुरक्षा आफैं गर्नुस्– मैले भनेकै यही हो । त्यतिबेला साथीहरूको राजनीति देखेर दिग्दार भएकै हो ।
मैले शेरबहादुरलाई कहिल्यै साथ दिएको छैन । सबै नेताले गठबन्धन समन्वय समितिमा बसिदिनुस् भनेपछि बसेको हुँ । शेरबहादुरसँग लाग्ने मेरो स्वार्थ केही छैन । तर, गलत प्रचार गरेर आफू हिरो बन्न खोज्ने साथीहरूले शेरबहादुरसँग मिल्यो भनेर प्रचार गरे । पार्टी शेरबहादुरको हातमा गइसकेपछि ‘रामचन्द्र दाइ’ भनिरहेका छन्, तर अहिले पनि म अलग्गै छु ।
देउवाले तपाईंलाई भेटेर ‘राष्ट्रका लागि तपाईंको आवश्यकता छ, राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस्’ भनेकाले पनि आशंका गरेका होलान् नि रु
शेरबहादुरजी मकहाँ आउनुभएको हो । त्यसबेला मैले ‘शेरबहादुरजी, धेरै अस्वस्थ प्रतिस्पर्धा भएको देखेर आफूलाई अलग राखें’ भनें । अस्वस्थ प्रतिस्पर्धाको अर्थ धेरै छ, जुन शेरबहादुरजीले बुझ्नुभयो र नाजवाफ हुनुभयो ।
अन्तिममा उहाँले एक वाक्य भन्नुभयो, ‘रामचन्द्रजी तपाईंको स्वास्थ्य राम्रो राख्नुस्, राष्ट्रलाई तपाईंको खाँचो छ ।’ भएको कुरा यत्ति हो ।
तपाईंलाई राष्ट्रपति बनाउने आश्वासन दिएको भन्ने कुरा पनि छ नि ?
त्यो राष्ट्रपति भन्ने पदमा मैले कहिल्यै लालच राखिनँ । गिरिजाप्रसाद कोइरालाले डा। रामवरण यादवलाई भन्दा पहिला मलाई राष्ट्रपतिमा प्रस्ताव गर्नुभएको थियो । गिरिजाप्रसादले आफू हुन नपाउने भएपछि विकल्पमा देखेको पहिलो व्यक्ति म नै थिएँ ।
अहिले पनि लोकतन्त्र सुरक्षित छैन, लड्न बाँकी छ । म सुविधाको पदमा बसेर होइन मैदानमा लड्न चाहन्छु । सक्रिय भएर काम गर्ने ठाउँमा बस्न चाहन्छु । तर, ‘रामचन्द्र राष्ट्रपति’ भनेर कपोलकल्पित हल्ला चलाइएको छ ।
हिजो प्रतिगमनविरुद्ध लड्दा पनि प्रचण्डले राष्ट्रपति दिन्छु भनेकोले केपी ओलीले घोषणा गरेको चुनावमा नलागेर संसद पुनस्र्थापना भन्दै हिंडेको भन्ने हल्ला चलाइयो । आप्mनो स्वार्थभन्दा माथि उठ्न नसक्ने, राष्ट्रका लागि सोच्न नसक्नेहरूले गरेको प्रचार थियो त्यो ।
प्रधानमन्त्रीमा पटक–पटक प्रतिस्पर्धा गर्नुभयो, तर बन्न सक्नुभएन । अब पार्टी सभापति देउवा र गठबन्धनका नेताहरूले राष्ट्रपति बन्नुस् भने के गर्नुहुन्छ रु
यो राष्ट्रले मबाट अझै केही योगदान चाहन्छ कि चाहँदैन रु रामचन्द्र पौडेलको योगदान, अनुभव, क्षमता, हैसियत सुहाउँदो कामका लागि प्रस्ताव गर्छन् कि कतै थन्किएर बस भन्छन् रु त्यतिखेरै कुरा गरौंला ।
भनेपछि, प्रधानमन्त्रीकै जिम्मेवारी पर्खिने हो ?
हो, यो नेपाल यस्तो दुर्दशामा रहनुहुँदैन । हामीले अलि ठूलो सोच राखेर नेपाललाई अगाडि बढाउने काममा लाग्नु छ । नेपालमा राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायको अठोट लिएर काम गर्ने नेतृत्वको खाँचो छ ।
मैले आफूलाई त्यसैका लागि समर्पित गरिराखेको छु । त्योभन्दा अरू लोभ, मोह छैन । अरू आशा, लिप्सा केही छैन ।
मैले देशलाई के चाहिएको छ भनेर हेर्ने हो । देशमा केही होस् भन्ने चाहना हो । देशलाई पनि प्रधानमन्त्रीको रूपमा रामचन्द्र पौडेल आवश्यक पर्न सक्छ । कांग्रेसहरूको चिन्तन र सोच कहाँसम्म जान्छ, हेर्दै जाउँ न । अनलाइनखबरका अमृत सुवेदीले गरेको कुराकानीको अशं ।

