सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले धोका दिएमा नेकपा एमालेसँगको गठबन्धनको सम्भावना कायमै रहेको बताएका छन्।
तर अहिलेकै गठबन्धन दलहरूसँग मिलेर चुनावमा जाने पहिलो प्रयास आफूहरुले गर्ने पनि उनले बताएका छन्।
प्रेस सेन्टर लुम्बिनीले विहीबार बुटवलमा गरेको कार्यक्रममा प्रचण्डले राजनीतिमा असम्भव भन्ने केही कुरा नहुने उल्लेख गरे।
एमालेसँगको सम्भावित तालमेलबारे पत्रकारको प्रश्नमा प्रचण्डले तत्काल केपी ओली र उनको पार्टीसँग तालमेल सम्भावना नभएको उल्लेख गरे। एमालेसँगको गठबन्धन कांग्रेसको व्यवहारमा पनि निर्भर हुने उनले बताए।
‘कांग्रेसका केही नेताहरुले भन्ने गरेका छन नि१ माओवादी केन्द्रसँग कुनै हालतमा तालमेल हुँदैन भनेर। उनीहरुमध्ये अतिवादी ढंगले बोल्ने केही नेता देखिनुभएको छ। हुन त प्रधानमन्त्रीजीले उहाँहरुलाई अब बोल्न बन्द गर पनि भन्नुभएको छ,’ उनले भने
‘कांग्रेसले लखेट्न नै थाल्यो भने त परिस्थिति के हुन्छ भन्न सकिँदैन। तर अहिले प्रधानमन्त्री शेरबहादुर देउवा यो गठबन्धनलाई हर हालतमा बचाएर जानुपर्छ भन्नेमा हुनुहुन्छ। त्यहीकारण मैले भनेजस्तो अवस्था आउला भन्ने मैले देखेको छैन।’
आगामी निर्वाचनमा सबै ठाउँमा तालमेल जरुरी नभएको भन्दै प्रचण्डले केही ठाउँमा गठबन्धनका दलबीच स्वस्थ प्रतिस्पर्धा पनि हुने बताए।
उनले आफ्नै एजेण्डा र संगठनको बलमा जनताको मन जित्ने र गठबन्धन पनि बचाउने ध्यानमा आफूहरु रहेको पनि बताएका छन्।
प्रचण्डले आफ्नै तागतबाट निर्वाचनमा जानु पहिलो प्राथमिकता भएको बताउँदै गठबन्धनलाई सहायक मानेको उल्लेख गरेका छन्।

