चीनका विदेशमन्त्री वाङ यी आउँदो शुक्रबार नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार वाङको नेतृत्वमा उच्चस्तरीय चिनियाँ टोली शुक्रबार भ्रमणमा आउन लागेको हो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि आउन लागेका वाङ पहिलो उच्चस्तरीय पाहुना हुन् ।
यसअघि चीनका रक्षामन्त्री वेई फंगेल १४ मंसिर २०७७ मा नेपाल भ्रमण गरेयता वाड उच्चस्तरीय पाहुना हुन् । ११ चैतदेखि १३ चैतसम्म तीन दिने भ्रमणमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओसहित सात जनाको टोली आउने तयारी भएको जनाइएको छ । नेपाल भ्रमणका क्रममा सीमापार र लगायतका समझदारीपत्रमा हस्ताक्षरको तयारी भइरहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
एक वर्षअघि चिनियाँ रक्षामन्त्री वेई तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विभाजनको संघारमा आइपुगेका थिए भने एमसिसी पारित भएको अवस्थामा वाङ आइपुग्दै छन् ।
नेपालमा अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्स कपरिसन ९एमसीसी० संसदबाट पारित भएपछि चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा लाग्नलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
नेपाल भ्रमणमा आउन लागेका वाङले नेपाली समकक्षी डा। नारायण खड्कासँग द्विपक्षीय औपचारिक वार्ता गर्नेछन् भने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट हुनेछ। आजको राजधानी दैनिकमा समाचार छ ।
परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीको अहिलेको नेपाल भ्रमण अप्रत्याशित हो। पूर्वतयारी भएको होइन। अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएलगत्तै हुन लागेको यीको भ्रमणलाई सामान्य र हलुका हिसाबले लिन नहुने विश्लेषकले बताएका छन्।
लामो समयदेखि नेपाल बसेर नेपाल(चीन सम्पर्क सूत्रका रूपका काम गर्दै आएका एक चिनियाँ अधिकारीका अनुसार भूराजनीतिलाई सन्तुलन राख्न यीको भ्रमण हुन लागेको हो। चिनियाँ अधिकारीहरू स्वयं यीको भ्रमण अप्रत्याशित भएको बताउँछन्। ती अधिकारीका अनुसार यो भ्रमणको मुख्य एजेन्डा नै भूराजनीति र त्यसले उत्पन्न गराउन सक्ने सम्भावित सुरक्षा चुनौती हो।
बीआरआईसमेत अहिलेका लागि सहायक विषय बनेको छ । एमसीसी अनुमोदन भएपछिको भूराजनीति अवस्थाले निम्त्याउन सक्ने सुरक्षालगायत चुनौतीहरू नै चीनका लागि महत्त्वपूर्ण विषय बनेका छन्’, उनले भने ।
चीन सरकार शेरबहादुर देउवा नेतृत्वको सरकारसँग ढुक्क छैन। काँग्रेस सभापति देउवा नेतृत्वको यो सरकार चीनविरोधी र अमेरिका(भारत पक्षधर रहेको चिनियाँहरूको बुझाइ छ। काँग्रेसले चीनलाई सहयोग नगर्ने उनीहरूको बुझाइ हो। विदेशमन्त्री यी बीआरआईअन्तर्गतका परियोजनाप्रति काँग्रेसको दृष्टिकोणबारे स्पष्ट भएर फर्कन चाहन्छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

