पूर्व मन्त्री प्रेमबहादुर सिंह १५ वर्षपछि आफ्नो नेतृत्वको पार्टीसहित नेकपा एमालेमा फर्किएका छन् । उनले एमाले त्यागेका थिएनन्, बरु एमालेले उनीमाथि कारबाही गरेपछि अलग पार्टी बनाएर बसेका थिए ।
एमालेबाट बाहिरिएको १५वर्षको बिचमा उनी दुई पटक संविधानसभा सदस्य र मन्त्री समेत बने । संविधानले थ्रेसहोल्डको व्यवस्था गरेपछि सिंहको समाजवादी जनता पार्टीले ३ प्रतिशत मत ल्याउन नसकेका कारण उनी सांसद बन्न पाएनन् ।
अन्ततः उनी आफ्नो पुरानै घर एमालेमा फर्किएका छन् । बुधवार एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सिंहले आफ्नो पार्टीका अन्य नेताहरूसहित समाजवादी जनता पार्टी नै एमालेमा समाहित गराए । उनलाई अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले स्वागत गरे ।
एमालेबाट प्रेमबहादुर सिंहको बहिर्गमनको आफ्नै कथा छ । २०५६ सालको आम निर्वाचनमा उनी कालिकोटबाट एमालेको सांसद निर्वाचित भएका थिए । उनी आफूमात्र जितेका थिएनन्,एमालेको तत्कालीन कर्णाली अञ्चल इन्चार्जको हिसाबले उनले कर्णालीका पाँचवटै जिल्लामा एमालेलाई जिताएको श्रेय पनि पाएका थिए ।
सिंह कर्णालीका पहिलो पुस्ताका वामपन्थी नेता हुन् भन्दा हुन्छ । नेपाल मजदुर किसान पार्टीबाट राजनीति सुरु गरेका सिंह कर्णालीमा एमालेको संस्थापकमध्येका एक हुन् । उनी राष्ट्रियसभा सदस्य भएकै बेला २०६४ सालमा कानून मन्त्री बनेका थिए ।
सिंहको राजनीतिक जीवनले राजा ज्ञानेन्द्रको शासन सत्ता हातमा लिने कदमपछि अर्कै मोड लियो । उनले तत्कालीन राजाको शाही कदमको पक्षमा आफूलाई उभ्याएका थिए । त्यही भएर जनआन्दोलनपछि पुनर्स्थापित प्रतिनिधिसभामा एमालेले उनको उपस्थिति हुन दिएन । उनीसहित राजाको कदमको पक्षमा उभिएका अन्य दलका सांसदहरूलाई समेत अन्तरिम सांसदबाट निष्कासन गरिएपछि सिंह एमालेबाट अलग भएका थिए ।
अन्ततः उनी जीवनको उत्तरार्धमा आफैले बनाएको घरमा फर्किएका छन् ।
मधेसका नेता भित्र्याउँदै ओलीले भने- अब जय मधेस भन्ने नै एमालेले हो
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको विकासमा सही बाटो देखाउने नेता र पार्टी अरू असफल भएकाले अब एमालेको काँधमा मधेसको जिम्मेवारी आएको बताएका छन् ।
मङ्गलवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मधेसका नेताहरूलाई सम्बोधन गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारले मधेसको विकासका लागि गरेका र अघि सारेका योजनाहरू सुनाए ।
ओलीले हुलाकी राजमार्ग,मधेसका जिल्ला सदरमुकाम जोड्ने सडक विस्तार तथा स्तरोन्नति,पूर्व पश्चिम राजमार्गको विस्तार,सुनकोसी मरिन डाइभर्सनको सुरुवात र फुसका छाना हटाउने अभियानको सुरुआत आफूले गरेको भन्दै गठबन्धन सरकार आएपछि मधेसको विकास रोकिएको बताए ।
ओलीले भने– यहाँ शिव पटेलजीले एमाले प्रवेश गर्दै जय मधेस भन्ने बानी छ भन्नुभयो । अब जय मधेस भन्ने नै एमालेले हो । मधेसको जय गर्ने एमालेले हो । जय मधेस गर्ने ठाउँमा साथीहरू आइपुग्नुभएको छ,ढुक्क हुनुस् अब जय मधेस । मधेसले समृद्धि खोजेको छ,त्यसको नेतृत्व एमालेले गर्छ ।
अध्यक्ष ओलीले केही समय एमालेलाई मधेस विरोधी भनेर भ्रम छरिए पनि भ्रम टुटेर मधेसबाट एमाले प्रवेशको लहर चलेको बताए । पछिल्लो समय मधेसका ठूला र प्रभावशाली राजनीतिक व्यक्ति तथा जनप्रतिनिधिहरू एमाले प्रवेश गरिरहेका बेला ओलीले अब मधेसको नेतृत्व एमालेले गर्ने बताए ।
ओलीले एमालेमा प्रवेश गर्ने कसैमाथि भेदभाव नगरिने भन्दै नवप्रवेशी सबैलाई उचित जिम्मेवारी दिइने बताए । परमादेशबाट एमालेलाई सरकार बाहिर लगिए पनि जनादेशबाट एमाले बहुमतसहित फर्किने दाबी ओलीको थियो ।

