नेपाली कांग्रेस चितवनमा ५० जना सक्रिय सदस्यहरुले सामूहिक राजीनामा दिएका छन्। भरतपुर महानगरपालिकाको नेतृत्व अर्को पार्टीलाई दिन लागिएको भन्दै कार्यकर्ताहरुले शनिबार सामूहिक राजीनामाको घोषणा गरेका हुन्।
भरतपुर महानगरपालिकाको मेयर पदमा पुन माओवादी केन्द्रलाई नै समर्थन गर्न लागिएको भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० कांग्रेस कार्यकर्ताले राजीनामा दिएका हुन्। पार्टीका स्थानीय अगुवा प्रकाश कँडेलको अगुवाइमा शनिबार एक औपचारिक कार्यक्रम गरी उनीहरुले राजीनामा दिएका हुन्।
कांग्रेस माओवादीकरण भएकाले आफूहरु अब पार्टी कार्यकर्ताको रुपमा रहिरहनुको औचित्य नभएको उनीहरुको भनाइ छ। कांग्रेसका क्रियासिल र साधारण सदस्यहरुको भेलामार्फत् आफूहरु अब पार्टी ९कांग्रेस०को साधारण सदस्य समेत नरहने गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरिएको कँडेलले बताएका छन्।
कँडेलका अनुसार राजीनामा दिनेमा पूर्ववडाध्यक्ष देवनारायण महतो, पार्टीका पूर्व वडा सभापति विष्णुप्रसाद सुवेदी लगायत छन्।
यता, सत्तारुढ नेपाली कांग्रेसले चितवन पुरै नदिने भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तनावमा परेका छन् ।
कांग्रेसभित्र चितवनमा गठबन्धनलाई सफल बनाउन पनि प्रचण्डको परिवारै बोक्न नहुने मत बलियो छ । चितवनमा एकातिर प्रचण्ड क्षेत्र नम्बर ३ बाट संघीय सांसद छन् भने अर्कोतिर भरतपुरको मेयर रेणु दाहाल छिन् ।
कांग्रेसले साच्चिकै गठबन्धन गर्ने हो भने यसपालि भरतपुरको मेयर आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । प्रचण्डले छोरीमा सेक्रिफाइज गर्नुपर्ने कांग्रेसभित्र ठूलो स्वर छ ।
यदि छोरीलाई त्याग गर्न नसक्ने हो भने गठबन्धन सफल बनाउन र कांग्रेससँग लामो सहकार्य राख्न चितवन ३ नम्बर क्षेत्र प्रचण्डले कांग्रेसका लागि छाड्नुपर्ने कांग्रेसको रणनीति छ ।
चितवनमा छोरी पनि र बाबु पनि बोक्न नसकिने नेताहरुले बताएका छन् । यदि चुनावी गठबन्धन गर्ने हो र सफल बनाउने हो भने छोरी वा बाबुमध्ये एकले त्याग गर्नुपर्ने आवाज कांग्रेसमा बलियो बनेको छ । यसमा सभापति शेरबहादुर देउवा पनि सकारात्मक रहेको र प्रचण्डलाई सम्झाउने कोसिस थालेका छन् ।
कांग्रेसबाट संस्थागत रुपमा सभापति देउवा, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य शेखर कोइरालाबाट चितवन खोस्ने खालको दबाब आएपछि प्रचण्ड तनावमा परेका हुन् ।
सिंगो परिवार नै राजनीतिक रुपम सेटल गर्न सक्रिय चितवन आफूले छोड्ने कि छोरीलाई रोक्ने फसाद परेको छ ।
यही विषयमा प्रचण्डले शुक्रबार आफ्नो निवास खुमलटारमा नेताहरुसँग छलफल गरेका छन् । पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुहको बैठकमा प्रचण्डले चितवनमा अतिरन्जित दावी गरेर कांग्रेसले अनावश्यक निहुँ खोजेको गुनासो गरेका थिए ।
एक नेताकाअनुसार कांग्रेसले नमाने माधव नेपाल उपेन्द्र यादवलगायत अन्य पार्टीसँग मिलेर कांग्रेससँगै प्रतिस्पर्धा गर्ने योजना प्रचण्डले सुनाएका थिए ।

