आगामी निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनमा ‘तालमेल हुने कि नहुने ?’ भन्ने मूल चुरो चार पदमा अड्किएको छ ।
कहिले भागबण्डा मिलेजस्तो त कहिले असहमति बढेजस्तो देखिँदै गठबन्धनभित्र राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै सभामुख र राष्टिय सभा अध्यक्षमा ‘बार्गेनिङ’ जारी छ ।
निर्वाचन क्षेत्रअनुसार सहमति खोजेर तालमेलको गाँठो फुकाउने कसरतमा रहेका पाँच दलीय गठबन्धन आबद्ध दलबीचमा मूलगाँठो भने ती चार पदको भागबन्डामा अड्किएको हो ।
उच्च स्रोतका अनुसार नेपाली कांग्रेसले आगामी निर्वाचनपछि राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा इच्छा देखाएको छ । त्यस्तै, माओवादी केन्द्रले प्रधानमन्त्री पदमा चाहना गरिरहेको छ । नेकपा एकीकृत समाजवादीको पनि निर्वाचनपछिको राष्ट्रपति पदमा दाबी देखिएको छ ।
‘गठबन्धनबीच चुनावी तालमेल दुई/चार सिट तलमाथि भए पनि हुन्छ तर मूल चुरो चार पदमा अड्किएको छ,’ उच्च स्रोतले भन्यो, ‘राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभा अध्यक्षमा कुरा अड्किएको हो, सबैभन्दा बढी जोड राष्ट्रिय सभा अध्यक्षबाहेकका तीन पदमा छ ।’
त्यस्तै, जसपाले सभामुखमा चासो राख्दा जनमोर्चा पनि एक पद आफ्नो पक्षमा पार्ने दाउमा देखिएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
यता, गत शुक्रवार सुर्खेत पुगेका गठबन्धनका प्रमुख नेता पुुष्पकमल दाहाल प्रचण्डलाई विमानस्थलमा सञ्चारकर्मीले प्रश्न गरे ( अब तपाई राष्ट्रपति, देउवा प्रधानमन्त्री हुने सहमति भएको हो ?
जवाफमा प्रचण्डले यो सही नभएको बताए। ‘यो सही हैन निराधार हो,’ सुर्खेत विमानस्थलमा प्रचण्डले भने।
प्रचण्डले संसद विघ’टनजस्ता विषयमा एमालेले आफ्नो धारणा प्रष्ट नराखेसम्म चुनावी तालमेलको आधार बन्नै नसक्ने बताए। त्यसैगरी उनले कर्णालीमा माओवादीको सरकार बन्ने गरी पार्टीको तयारी अघि बढाएकोसमेत दाबी गरे।
सिट बाँडबाँटबारे पनि अन्तिम विन्दुमा पुगिसकेको उनको भनाई रह्यो। ‘सिट बाँडफाँटबारे संख्या सहमतिको नजिक पुगिसकेका छौ,’ प्रचण्डले भने, ‘भोलि दिनभर बसेर टुंग्याउने भनेर हामी हिजो उठेका हौं।’
सिट संख्यामात्र नभएर कुन प्रतिनिधि सभा र कुन प्रदेश सभा कसलाई भनी एकैसाथ टुंग्याउने गरी छलफल अघि बढेकोले समय बढी लागेको उनको भनाई थियो।
‘संख्या मात्र हैन, कुन कुन क्षेत्र र प्रदेश कसले पाउने भन्ने पनि एकै चोटि टुङ्ग्याउने गरी छलफल अघि बढेको छ,’ प्रचण्डले भने।