प्रतिनिधिसभा र प्रदेशसभामा कुनै दलको स्पष्ट बहुमत नआएको अवस्थामा वामपन्थी दलहरू मिलेर सरकार बनाउने विषयमा नेताहरूबीच चर्चा सुरु भएको छ । कांग्रेससँगको सहकार्यमा चुनाव लडेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेताले सोचेजस्तो परिणाम नआउने देखेपछि सरकार गठनका लागि वाम एकता वा गठबन्धनको चर्चा गर्न थालेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम एकताभन्दा पनि सहकार्यमा जोड दिएका छन् । गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बिहीबार टेलिफोनबाट बधाई दिने क्रममा एमाले अध्यक्ष ओलीले सरकार गठनमा सहकार्यको सम्भावनाबारे जिज्ञासा राखेका हुन् । ‘दुवै पार्टीका अध्यक्षबीच कुराकानी भएको छ, सम्भावित सहकार्यबारे कुराकानी भएको छ’, माओवादी अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले भने ।
सत्ता गठबन्धनमै रहेको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि रौतहट १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि वाम एकताको विषय उठाएका छन्। एमालेले प्रत्यक्ष निर्वाचनतर्फ ४५ र समानुपातिकतर्फ कम्तीमा ३० सिट पाउने अनुमान गरिएको छ।
निर्वाचनबाट वामपन्थी दलहरूमा एमाले सबैभन्दा ठुलो दल बन्ने संकेत देखिएको छ। माओवादीले प्रत्यक्ष र समानुपातिकतर्फ गरी २५ देखि ३० सिट जित्ने विश्लेषण हुन थालेको छ। एमालेबाट विभाजन भएर बनेको नेकपा एसले पनि प्रत्यक्षतर्फ कम्तीमा १० सिट जित्ने अनुमान गरिएको छ।
राष्ट्रिय जनमोर्चाले एक सिट जितिसकेको छ। वामपन्थी दलबीच सहकार्य भए मुलुकमा बलियो वामपन्थी शक्ति बन्ने देखिन्छ। आजको नागरिक दैनिकमा समाचार छ ।