पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रमुख प्रतिपक्ष नेकपा एमाले संसदीय दलको बैठकमा सांसदहरुको हस्ताक्षर खाली कागजमा गराइएको छ । बैठकमा पाँच सांसदले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन्।
बैठकमा सहभागी सांसदहरू भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गर्न नमानेका हुन्।
संघीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको संसदीय दलको बैठकमा ६ वटा खाली कागजमा छुट्टाछुट्टै हस्ताक्षर गराइएको थियो।
ती कागजमा हस्ताक्षर गर्न भीम रावलले लिखितरूपमा नै असहमति राखेका थिए। अन्य चार सांसदले पनि त्यसमा मौखिक कुरा राख्दै हस्ताक्षर गर्न अस्वीकार गरेका थिए।
प्रयोजन नखुलाएकाले आफूले हस्ताक्षर नगरेको झपट रावलले बताए।
‘पार्टीको निर्णय मान्छु तर केको लागि थाहा नभइ हस्ताक्षर गर्दिनँ। हामीले यस्तो गरे जनतालाई के भन्ने हो। म खाली कागजमा हस्ताक्षर गर्दिनँ’, एक सांसद ले भने।