काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले अमेरिकी राजदूत डिन थम्प्सनसंगको भेटबारे मुुख खोलेका छन् । नेकपा एमालेका नेता भीम रावलले प्रश्न उठाएपछि बालेन बोलेका हुुन् ।
उनले पटक पटक मन्त्री भइसकेका नेता रावललाई तपाईंहरुले जस्तो विदेशीसंग सहयोग माग्ने कुनै रहन नभएको भन्दै परराष्ट्र मन्त्रालयको अनुमति लिएर आएपछि मात्र भेट गरेको बताएका छन् ।
यसअघि आजै नेता रावलले मेयर साह र राजदूत थम्प्सनका बीचको भेट परराष्ट्र मन्त्रालयको स्वीकृतिमा भएको हो कि होइन रु भन्दै प्रश्न उठाएका थिए र सो भेटलाई मुलुकको संविधानले उल्लेख गरेको व्यबस्था विपरीत तथा सार्वभौम सत्तालाई कमजोर बनाउने अभ्यासका रुपमा परिभाषित पनि गरेका थिए । रावलले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएपछि मेयर वालेनले पनि सामाजिक सञ्जालमार्फत नै कडा जवाफ फर्काएका हुन् ।
मेयर साहले परराष्ट्रको अनुमति नलिई आफूले भेट्न नमानेको, अनुमति लिएर आउन भनेको र अनुमति लिएर आएपछि भेट गरेको स्पष्ट जबाफ पनि रावललाई दिएका छन् ।
उनले अमेरिकी राजदूतले महानगरपालिकालाई आर्थिक सहयोग दिने प्रस्ताव लिएर आएको बताएका छन् तर त्यस्तो प्रस्ताव आफूले स्वीकार नगरेको पनि उनले जानकारी दिएका छन् । बरु मेयर साहले अमेरिकाका विभिन्न ठाउंहरुमा नेपाली सभ्यता झल्काउने मन्दिरहरु र पाटी पौवा बनाइदिन महानगरपालिकाले सहयोग गर्ने जानकारी राजदूतलाई दिएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्,‘ अमेरिकी राजदूतले हामीसंग पटक पटक भेट्न खोज्दा हामीले चाहिं बरु उल्टै उहांलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहांले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।
हामीलाई तपाईंहरु जस्तो विदेशीसंग सहयोग माग्ने कुनै रहर छैन । उहांले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामीचाहिं अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौं भनेर पठाएका छौं ।
थप एमसीसीमार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपालमैं प्रयोग गरेर आर्थिक उन्नति गर्नुपर्छ भन्ने धारणा व्यक्त गरेका छौं ।’