नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति नछोड्ने अडान लिएपछि गठबन्धनमा खैलाबैला भएको छ । गठबन्धनमा प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाबीच कसलाई बनाउने भन्नेमा सहमति भने जुटेको छैन ।
प्याकेज मै गर्नेगरी पदीय बाँडफाँडका लागि शेरबहादुुर देउवा, माधव कुमार नेपाल र प्रचण्डबीच छलफल निरन्तर भए पनि टुंगिएको छैन ।
एमाले र माओवादीका केही नेताहरु वाम सरकार बनाउन कसिए पनि प्रचण्डभित्री रुपमा एमालेको सहयोगमा प्रधानमन्त्री नबन्ने अठोट लिएर बसेको स्रोत बताउछ ।
प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए र त्यसमा देउवाको सकारात्मक संकेत पाएको माओवादीले चर्चा चलाए पनि पहिलो चरणमा शेर वहादुर देउवाले प्रधानमन्त्री नछाड्ने कांग्रेस स्रोत बताउछ ।
स्रोतका भनाइमा को प्रधानमन्त्री भन्ने ठोस निर्णय चाहिं आज पुस १० गते गरौंला भन्दै नेपाली कांग्रेसले माओवादी र समाजवादीलाई अलमलाएर राखेको छ ।
स्रोतका अनुसार, प्रचण्ड प्रधानमन्त्री हुने अवस्थामा कांग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपति हुन सक्ने अवस्था रहेको छ ।
यसो गर्दा दुई वर्षपछि प्रचण्डले कांग्रेसका लागि प्रधानमन्त्री पद छाडेपछि राष्ट्रपति र प्रधानमन्त्री पनि कांग्रेसकै हुने तर्क पनि कांग्रेसबाटै अघि सारिएको छ ।
प्रचण्ड र माधव कुमार नेपालले बढी बार्गेनिङ गरेर निहुँ खोजेमा एमाले सत्तामा नजाने प्रतिनिधि सभामा विश्वासको मत दिनेगरी एमालेले साथ दिने सम्भावना पनि प्रवल रहेको स्रोत बताउछ ।