नयाँ सरकारको नेतृत्व हातमा लिनका लागि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा कसरतमा छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मनाएर उनी आफैँ फेरि प्रधानमन्त्री बन्न चाहिरहेका छन् ।
एकातिर, २, २ र १ बर्ष देउवा, प्रचण्ड र माधव प्रचण्ड बन्ने चर्चा छ भने अर्कातिर पहिलो खेमा को बन्ने भन्ने बिषयमा छलफल जारी छ ।
देउवाद्धारा संसदीय दलको नेतामा चयन हुँदा धेरै सांसदहरुलाई मन्त्री बनाउने आश्वासन दिइएको छ। झन्डै ४० जनालाई उनले आश्वासन दिएको चर्चा संसदीय दलको चुनावअघि नै भएको थियो।
कांग्रेसले बढीमा ८ मन्त्री पाउने भएकाले दुई वर्षमा उनीहरुको पालो पुर्याउन सम्भव छैन। पालो गर्दा पनि हटाइनेहरु असन्तुष्ट रहने जोखिम रहन्छ। यसले गर्दा दुई वर्षमा हिसाब गडबड हुने देउवाले देखेका छन्।
महामन्त्री गगन थापाले संसदीय दलमा पराजित भएपछि फेरि सोही पदका लागि आफूले प्रयास गरिरहने घोषणा गरेका छन्।
थापानिकट नेताहरुका अनुसार पाँच वर्षको बीचमा बहुमत सांसदको हस्ताक्षर संकलन गरेर देउवालाई संसदीय दलको नेताबाट फिर्ता बोलाउने प्रयास हुनेछ।
जुनसुकै बेला शक्ति स्थान्तरण भइरहने नेपाली राजनीतिमा दुई वर्षपछि आफू प्रधानमन्त्री हुनेमा देउवा ढुक्क छैनन्। उमेरका हिसाबले पनि सक्रियता घट्दै गएका देउवा त्यसैले प्रधानमन्त्रीमा निरन्तरता दिन चाहन्छन्।