नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बन्ने वातावरण बन्न लागेको छ । नेकपा माओवादीका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुुगेका छन् ।
रास्वपा अध्यक्ष रवि लामिछाने,राप्रपा अध्यक्ष राजेन्द्र लिङ्ग्देन र जसपा नेता अशोक राईले ओलीसंग भेटवार्ता गरेका छन् । ओली-प्रचण्ड छलफललगत्तै चार दलको बैठक बस्ने तयारी छ ।
यसवीच शेरबहादुर देउवाले फोन गरेर फेरि छलफल गर्न बोलाउँदा प्रचण्डले इन्कार गरेका छन् । प्रचण्डले प्रधानमन्त्री, राष्ट्रपति दुुवै पदमा आफैँ बस्न खोजेको भन्दै ठाडो भाषामा आक्रोश पाखेको स्रोतले बतायो ।
अहिले बालकोटमा चार दलबीच छलफल जारी छ । एमाले अध्यक्ष ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच छलफल जारी छ ।
कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न तयार नभएपछि माओवादी सत्ता गठबन्धनको वार्ता छाडेर एमालेसँग छलफलमा सुरु गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका र जसपा पनि थपिएपछि चार दलसँग सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ ।
एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका सँग २० र जसपासँग १२ जना सांसद छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ सांसदको समर्थन चाहिन्छ ।
मिलिजुली सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतबार साँझ ५ बजे सकिँदैछ । १४ सांसद भएको दल राप्रपा पनि एमालेसँग संवादमै छ ।