निवर्तमान प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा सरकारी निवास बालुवाटारबाट बाहिरिएका छन् । उनी आज बिहान ११ः२० बजेको साइतमा बालुवाटार छाडी धुम्बाराहीस्थित नयाँ भाडाको घरमा लागेका हुुन् ।
बूढानीलकण्ठको घर रेट्रोफिटिङ्ग गर्न थालिएकोले उनले संयुक्त रास्ट्र संघका पूर्व उपमहासचिव डा.कूलचन्द्र गौतमको ठूलो कम्पाउण्ड वाला घर ६ महिने भाडामा लिएका छन् ।
हिजो बालुवाटारबाट नेपाल प्रहरीको ट्रकमा ४ पटक सामान ओसारिएको र आज पनि रहलपहल सामान लगिएको निजी सचिव भानु देउवाले बताए ।
यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उप्रेन्द्र यादवलाई भेटेका थिए । त्यसलगत्तै एमाले अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटारतर्फ लागेका हुन् ।
पाँच दलीय गठबन्धन टुटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओली पहिलो पटक खुमलटार गएका हुन् । प्रचण्ड र ओलीको खुमलटार बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई बोलाइएको बताइएको छ ।
आफूलाई खबर नै नगरि एमालेसँग गठबन्धन बनाएको भन्दै अध्यक्ष नेपालले असुन्तष्टि पोखिरहेका बेला प्रधानमन्त्री प्रचण्ड र ओली उनलाई फकाउनेतिर लागेका हुन् ।