नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा निकट नेता र विमलेन्द्र निधिका विश्वासपात्रबीच मधेस प्रदेश संसदीय दलको नेताका लागि टक्कर हुुने भएको छ ।
कांग्रेसको मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव र हालका मन्त्री रामसरोज यादवले उम्मेदवारी हालेपछि दुुवैको टक्कर हुुने भएको हो ।
रौतहटका कृष्ण पार्टी सभापति देउवा निकट नेता मानिन्छन् । रामसरोज भने नेता निधिका विश्वासपात्र हुन् । विगतमा देउवा निकट रहेका रामसरोज एक वर्षअघि सम्पन्न महाधिवेशनमा निधिले आफ्नो गुट बनाएपछि त्यतै लागेका थिए ।
संघीय संसदीय दलमा सभापति शेरबहादुर देउवालाई बिना शर्त सघाएका नेता बिमलेन्द्र निधिले संस्थापनकै उम्मेदवारविरुध्द रामसरोजलाई मैदानमा उतारेपछि भि’डन्त रोचक हुने देखिएको छ ।
आज बिहानसम्म सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचनबाटै दलको नेता चयन गर्न लागेको कांग्रेस मधेस प्रदेशले त्यसका लागि प्रक्रिया अघि बढाइसकेको छ ।
मधेसमा दोस्रो ठूलो काँग्रेसलाई केन्द्रको समीकरण फेरबदल भएकाले सरकार बनाउन सजिलो छैन । तर,पनि कांग्रेस नेताहरुले अन्य दलहरुसंग वार्ता प्रक्रिया अघि बढाएका छन् ।