प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राजनीतिक भेटघाटमा सक्रिय भएका छन्। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग भेटेर छलफल गरेका छन्। नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छाडेर माओवादी केन्द्रका अध्यक्ष दाहाल एमालेसमेतको सहयोगमा प्रधानमन्त्री बनेपछि देउवा असन्तुष्ट छन्।
संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री भएका दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ। विश्वासको मतका विषयमा राजनीतिक वृत्तमा अनेक अड्कलबाजी भइरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले जसपा अध्यक्ष यादवसँग छलफल गरेका हुन्।
यादवसहितका दललाई विश्वासमा लिएर तत्कालै नयाँ सरकारको नेतृत्व गर्न सकिन्छ कि भन्ने गृहकार्यमा कांग्रेस जुटेको स्रोतको दाबी छ। दाहाल नेतृत्वमा सरकार बनेपछि केही दिन सुस्ताएका देउवाको यो राजनीतिक भेटवार्तालाई अर्थपूर्ण मान्न सकिन्छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुन चाहे पनि तत्कालीन राजा ज्ञानेन्द्र शाह त्यसको विपक्षमा देखिएका छन्। सर्तसहित सरकारमा सहभागी हुने केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअघि नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेका थिए।
कार्यसम्पादन समितिका धेरैजसो नेता सरकारमा सहभागी हुनुपर्ने पक्षमा उभिएपछि राप्रपाले सर्तसहित सहभागिता जनाउने निर्णय गरेको हो। त्यसलगत्तै राप्रपाका रवीन्द्र मिश्रसहितका नेताले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेका थिए। राप्रपाले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीका दिन (पुस २७ गते) सार्वजनिक बिदा र चारवटा मन्त्रालय दिइनुपर्ने सर्त राखेको छ।
यसैबीच कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि नयाँदिल्ली पुगेका छन्। निधिले भने भारतीय नेता डिपी त्रिपाठीको निध’नको वार्षिकीमा सहभागी हुन नयाँदिल्ली आइपुगेको बताएका छन्। पार्टी सभापति देउवालाई जानकारी गराएर निधि नयाँदिल्ली गएका हुन्।
नयाँदिल्लीमा शुक्रबार आयोजना हुने त्रिपाठीको स्मृति कार्यक्रममा सहभागी भएर उनी आइतबार काठमाडौं फर्कने तयारीमा छन् । उनले राजनीतिक भेटघाटको कार्यक्रम तय नभएपनि सम्भावना भने रहेको बताएका छन् ।
निवर्तमान प्रधानमन्त्री देउवा पदबाट हटेपछि बालुवाटारबाट केही दिनअघि मात्रै भाडाको घरमा धुम्बाराही सरेका थिए । उनको बुढानिलकण्ठको घर मर्मत भइरहेको छ । राजनीतिका चतुर खेलाडी मानिने देउवाले नयाँ कोर्समा राजनीतिलाई हिँडाएर फेरि केही दिनमै प्रधानमन्त्री बने आश्चर्य मान्न नहुने राजनीतिक ज्ञाताहरुको दाबी छ ।