आर्थिक संकट व्यवस्थापन गर्न नसकी जनताको आक्रोशको शिकार बनेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे निवास छोडेर भागेका छन् ।
७३ वर्षीय राष्ट्रपति कसरी निवासबाट भागे भन्ने विषयमा एएफपी समाचार संस्थाले खबर दिएको छ । आधिकारिक स्रोतहरूलाई उद्धृत गर्दै दिइएको खबरअनुसार, जलसेनाका जवानहरूले राष्ट्रपतिलाई भवनको पछिल्लो ढोकाबाट सुरक्षा दिएर निकालेका थिए ।
त्यसपछि उनलाई डुंगामा राखेर देशको उत्तरपूर्वमा रहेको स्थानतर्फ लगिएको थियो । राष्ट्रपति राजपक्ष भागेपछि जनताले उनको भवनमा प्रवेश गरेर रमाइलो गरेको भिडियोहरू सार्वजनिक भएका छन् ।
राष्ट्रपति गोटाबाया राजपाक्षेले जुलाई १३ मा राजीनामा दिने
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले यही जुलाई १३ तारिखमा पदबाट राजीनामा दिने भएका छन् । राजपाक्षेले श्रीलंकाली संसद्का सभामुख महिन्दा यापा अविवर्दनालाई यसबारे जानकारी गराएका हुन् ।
श्रीलंकाका विभिन्न राजनीतिक दलहरूले गरेको मागका आधारमा राष्ट्रपति गोटाबायाले यो निर्णय गरेको जानकारी सभामुखको कार्यालयले प्रकाशन गरेको सो विज्ञप्तिमा जनाइएको छ ।
यसअघि प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि आफ्नो पदबाट राजीनामा दिने बताइसकेका छन् । प्रधानमन्त्री विक्रमासिंघे र राष्ट्रपति गोटबायाले नै पद त्याग गर्नुपर्ने माग यहाँका राजनीतिक दलहरूले संसद्मा गरिरहेका थिए । – एजेन्सी