राष्ट्रपतिको कार्यालय तथा निवास शीतल निवासमा बुुधबार हर्षोल्लासपूर्वक बडादसैं २०७९ को टीका लगाउने र लगाइदिने कार्यक्रम सम्पन्न भयो।
बडादसैंको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको गतिविधि आश्चर्यजनक देखिएको छ । भण्डारीले शीतलनिवासमा गुरूहरू हनुमानढोकाका मूलपुजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका मूलपुजारी खेमचन्द्र ढकाल बाट ११ः५१ बजे टीका ग्रहण गरिन् ।
त्यसपछि गुरूहरूले राष्ट्रपतिबाट टीका थाप्ने पालो आयो । राष्ट्रपति भण्डारी सोफामा बसेकाले अर्याललाई उभिएरै टीका थाप्न सम्भव भएन । उनले घुँडा आधा खुम्च्याएर राष्ट्रपतिले आफ्नो निधारमा हात पुर्याउने तहसम्म निहुरिएर टीका ग्रहण गरे ।
अर्याललाई दक्षीणा प्रदान गरेर राष्ट्रपतिले आफ्नै कार्यालयका मूलपुजारी खेमचन्द्र ढकालको हातबाट टीका ग्रहण गर्ने पालो आयो । राष्ट्रपतिलाई टीका लगाइदिएपछि ढकालले राष्ट्रपतिबाट टीका ग्रहण गर्ने पालो आयो ।
राष्ट्रपति सोफामा बसेकी राष्ट्रपतिको हातबाट टीका थाप्न उनले निहुरिनुपर्ने अवस्था आयो । उनी अर्यालले झैं निहुरिएनन् बरु राष्ट्रपति भण्डारीको अगाडि भुइँमा पलेटी कसेर बसेका थिए । पुजारीहरूलाई साथ दिन आएकाहरूले पनि ढकाललाई नै पछ्याएको देखियो।
राष्ट्रपतिले छोरी, ज्वाइँ, नातिनीलगायतका आफन्त र सचिवालयमा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीलाई टीका लगाउने बेला भने राष्ट्रपति बसेको सोफा अगाडि कुर्सी राखिएका थिए, यसको रहस्य भने खुुलेको छैन ।
राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपतिले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई दिउँसो २ बजे देखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइएकी थिइन्।